EduPress
'

प्रधानाध्यापकको छनौटमा हुने राजनीति अन्त्य गर्ने शिक्षामन्त्री पुनको घोषणा

Author Image
सोमवार, कार्तिक ४, २०८२
Mahabir Pun
Text Size:

प्रधानमन्त्री कुलपति बन्ने व्यवस्था अन्त्य गरी ट्रस्टी बोर्डले छान्ने व्यवस्था गरिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) चयनमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न कार्यविधि तयार हुँदै गरेको बताएका छन्।

मन्त्री नियुक्तिपछि पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले स्थानीय तहका लागि हेडमास्टर छनोटसम्बन्धी निर्देशिका बनाइरहेको जानकारी दिए।
‘राजनीतिक दबाबका कारण अयोग्य व्यक्ति प्रधानाध्यापक बन्दै आएको अवस्था अन्त्य गर्न हामी कार्यविधि तयार गर्दैछौं,’ मन्त्री पुनले भने, ‘अब योग्य र सक्षम व्यक्ति मात्र हेडमास्टर बन्ने वातावरण बनाइनेछ।’

विद्यालय स्तरमा हेडमास्टर विद्यालयको विकासको लागि प्रमुख व्यक्ति भएकोले राम्रो हेडमास्टर भयो भने विद्यालयको पठनपाठनदेखि सबै कुरा ५० प्रतिशत सुध्रने उनले दावी गरे ।
तर, हेडमास्टर चयनमा राजनीतिकरण भएर योग्य व्यक्तिहरुले नपाउने र अयोग्यहरु आउने अवस्था रहेको उनले बताए ।

मन्त्री पुनले पाठ्यक्रमसम्बन्धी सुधार कार्य पनि सुरु भइसकेको बताए। उनका अनुसार, अहिलेको पाठ्यक्रम समयानुकूल नभएको गुनासो धेरै आएकाले पाठ्यक्रम विकास केन्द्रलाई पुनरावलोकन र अद्यावधिक गर्ने जिम्मेवारी दिइएको छ।

पाठ्यक्रम धेरै पुरानो भएको र समय सापेक्ष नभएको गुनासो आइरहेकोले यसलाई अब परिमार्जन गर्ने गरी काम अघि बढाइएको उनले बताए । अब नैतिक शिक्षा, पूर्व व्यवसायिक शिक्षा, इतिहास, संविधानका कुराहरु राख्ने, जीवन विज्ञानका कुराहरु राख्ने गरी पाठ्यक्रम विकास गरिने उनले बताए । यसका लागि पाठ्यक्रम विकास केन्द्रको टोलीलाई काममा लगाइसकिएको उनको भनाई छ ।

त्यस्तै, विश्वविद्यालय सुधारको प्रसङ्गमा मन्त्री पुनले प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्थाले शैक्षिक निकायहरूमा राजनीतिक हस्तक्षेप बढाएको आरोप लगाए।
‘विश्वविद्यालयमा राजनीति घटाउन प्रधानमन्त्री नभई ट्रस्टी बोर्डले कुलपति चयन गर्ने व्यवस्था आवश्यक छ,’ उनले भने। ‘हाल कानुनी अवरोधका कारण तत्काल संशोधन सम्भव नभए पनि सुधारको तयारी भइरहेको छ।’

अर्को प्रसङ्गमा उनले जेनजी आन्दोलनका क्रममा सीटीईभीटी अन्तर्गतका केही उत्तरपुस्तिका जलेकाले पुनः परीक्षा लिने निर्णय भएको जानकारी दिए। कपी जलेकाहरुको पुनः परीक्षा लिँदा करिव एक करोड ७५ लाख जति खर्च लाग्ने देखिएको मन्त्री पुनले बताए । उनले पुनः परीक्षा लिने कुरा गर्दा कतिपय विद्यार्थीहरुले चित्त दुखाएको र परीक्षा नै नदिएर उत्तीर्ण गराउनुपर्ने कुरा राखेको उल्लेख गर्दै उत्तर पुस्तिका नै नजाँचेर र परीक्षा नै नदिएर उत्तीर्ण गराउने कुरा हुन नसक्ने निर्णयमा आफूहरु पुगेको बताए । तर, त्यो निर्णय गर्न निकै सहस भएको उनको भनाई थियो ।

सीटीईभीटीमा लामो समयदेखि सम्बन्धन २०६९ सालदेखि रोकिएको प्रसंग उल्लेख गर्दै उनले अब खुलाउनेतिर आफूहरु लागेको जानकारी गराए । सम्बन्धनका लागि करिव ४४२ वटा निवेदन परेको र ती निवेदनहरुलाई दुईमहिना भित्रमा छानविन गरेर पाउनुपर्नेले पाउने र नपाउनेले नपाउने गरी टुंगो लगाउने उनले बताए ।

अहिलेसम्म सम्न्धन लिनेमा चलखेल पनि हुने गरेको तर अब त्यसलाई रोकिने पनि उनले दावी गरे । सीटीईभीटी नेपालको लागि निकै महत्वपूर्ण रहेको र मध्यम खालका प्राविधिकहरु यसबाट उत्पादन हुने भएकोले यो निकै आवश्यक भएको उनले बताए । सीटीईभीटीलाई निकै राम्रो बनाउने आफूले प्रयास गरेको बताए ।

यसअघिका मन्त्रीहरुले गर्ने परम्परागत शैलीको पत्रकार सम्मेलनभन्दा फरक शैलीमा बाहिर खुल्ला ठाउँमा उभिएर मन्त्री पुनले आजको पत्रकार सम्मेलन गरेका थिए । मन्त्री पुनको पत्रकार सम्मेलनलाई कभरेज गर्न ठूलो संख्यामा मिडियाकर्मीहरु उपस्थित थिए । मिडियाका माइक्रोफोन र पिन माइकहरुले मन्त्री पुनको शरिर ढाकिएको थियो । उनी सदाबहार रोचक शैलीमा प्रस्तुत हुँदै मिडियाकर्मीहरुलाई एकछेउबाट लहरै प्रश्न गर्न भनेका थिए ।

Views: 32

प्रतिक्रिया

सम्बन्धित खबर