काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान र प्रविधि क्षेत्रलाई हेला गरेर कुनामा थन्काइएको भन्दै शिक्षामन्त्री महावीर पुनले यसलाई अब पुनर्संरचना गर्ने बताएका छन् । सोमबार केशरमहल स्थित मन्त्रालय परिसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले यस शिक्षा मन्त्रालयको नाममा विज्ञान र प्रविधि पनि जोडिएको भए पनि यस मन्त्रालयमा अधिकांश काम शिक्षाको हुने र विज्ञान र प्रविधिलाई छेउमा राखी हेला गरिएको बताए ।
मन्त्री पुनले अब विज्ञान र प्रविधि क्षेत्रलाई शिक्षाबाट टुक्राएर छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए । विज्ञान र प्रविधिका क्षेत्रमा हुने सम्पूर्ण कामहरुलाई त्यसमा जोड्नुपर्ने मन्त्री पुनले बताए । विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गत अनुसन्धान, अन्वेषण, नवप्रवद्र्धन जस्ता कामहरु अघि बढाउनुपर्ने बताए । मन्त्री पुनले भने, “देशमा बलियो विज्ञान तथा प्रविधि मन्त्रालय नबनाएसम्म देशको विकास हुँदैन ।”
विज्ञान प्रविधि, नवप्रवद्र्धन, अनुसन्धानको काम नभएसम्म देशको आर्थिक विकास हुन नसक्ने र रोजगारीको सिर्जना नहुने उनले ठोकुवा गरे । मन्त्री पुनले भने, “त्यसका लागि शिक्षाबाट विज्ञान र प्रविधि मन्त्रालयलाई छुट्याएर बलियो मन्त्रालय बनाउनै पर्छ । बलियो विज्ञान र प्रविधि मन्त्रालय नबनाएसम्म विज्ञान प्रविधिको विकास हुँदैन, विज्ञान प्रविधिको विकास नभएसम्म देशको अर्थतन्त्र सुध्रदैन । अर्थतन्त्र नसुध्रिएसम्म जेन जी जस्ता आन्दोलनहरु भइरहन्छन् ।”
अर्थतन्त्र नसुध्रिएसम्म देशमा रोजगारी सिर्जना नहुने र रोजगारी नपाएपछि मान्छेहरुको दिमाग फ्री हुने र त्यस्तो मान्छेले अनेक खालका राम्रा नराम्रा कुरा सोच्न थाल्ने र त्यसबाट आन्दोलन हुने उनको भनाई थियो । उनले अर्थतन्त्रको विकास नभएपछि शिक्षाको पनि विकास हुन नसक्ने बताए ।


