काठमाडौं । कैलालीको टीकापुर बहुमुखी क्याम्पसले अतिक्रमित जग्गा संरक्षणका लागि सरकारसँग उच्चस्तरीय आयोग गठनको माग गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको यो ऐतिहासिक क्याम्पस विगत केही वर्षयता अतिक्रमणको समस्यामा परिरहेको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, रजिस्ट्रार प्रा.डा. विनोद लेखकलगायतको टोलीले सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेट्दै क्याम्पसको करिब ३०० बिघा अतिक्रमित जग्गा संरक्षणका लागि तत्काल कदम चाल्न आग्रह गरेको हो।
उपकुलपति प्रा.डा. पन्तले क्याम्पसको जग्गा सार्वजनिक सम्पत्ति भएकाले यसको दिगो संरक्षणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी समाधान खोज्न लिखित अनुरोध गरिएको बताए।
मन्त्री पुनले विश्वविद्यालय प्रतिनिधिहरूको मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै, अतिक्रमित जग्गा फिर्ता र संरक्षणका लागि मन्त्रालयले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको रजिस्ट्रार प्रा.डा. लेखकले जानकारी दिए।
टीकापुर बहुमुखी क्याम्पस सुदूरपश्चिमको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक हो। तर पछिल्ला वर्षमा स्थानीय तहका लापरवाही र राजनीतिक प्रभावका कारण यसको जग्गा क्रमशः अतिक्रमणमा परेको बताइन्छ।


