– प्रभात चलाउने
नेपालका सामुदायिक विद्यालयहरू शैक्षिक विकासको आधारस्तम्भ हुन्, जहाँ लाखौं विद्यार्थीहरूले शिक्षा प्राप्त गर्छन् । यी विद्यालयहरूको सफलता र गुणस्तरमा प्रधानाध्यापकको भूिमका अहम छ । एक उत्कृष्ट प्रधानाध्यापकले विद्यालयलाई केवल प्रशासिनक नेतृत्व मात्र प्रदान गर्दैन, बरु समुदायको शैक्षिक, सामाजिक र सांस्कृतिक उन्नतिमा पनि योगदान पु¥याउँछ । यो लेखमा विद्यालयका प्रधानाध्यापकहरूमा हुनुपर्ने गुणहरूमाथि चर्चा गरिनेछ ।
प्रत्येक समृद्ध विद्यालयको केन्द्रमा एक यस्ता प्रधानाध्यापक हुन्छन्, जसको नेतृत्वले संस्थाको मात्र होइन, विद्यार्थी, शिक्षक र समुदायको भविष्यलाई आकार दिन्छ । उत्कृष्ट प्रधानाध्यापकहरू केवल प्रशासक होइनन; तिनीहरू दूरदर्शी अगुवा, प्रभावकारी सञ्चारकर्मी र सहानुभूतिपूर्ण संरक्षक हुन्, जसले विद्यालयलाई सिकाइ र विकासको जीवन्त केन्द्रमा रूपान्तरण गर्छन् ।
दूरदर्शी नेतृत्वः भविष्यको स्पष्ट मार्गीचत्र
दूरदर्शी नेतृत्व विद्यालय सुधारको आधारशिला हो । यस्ता नेताहरूले विद्यालयको विशिष्ट आवश्यकताअनुसार स्पष्ट र प्रेरक मिशन तयार गर्नुपर्दछ । उत्कृष्ट प्रधानाध्यापकले भविष्यको स्पष्ट मार्गीचत्र निर्माण गर्नुपर्दछ । एक सही नेतृत्वले आफू उभिएको ग्राउन्डमा सबैमा उर्जा पैदा हुने वातावरण निर्माण गर्दछ । असल नेतृत्वले सबैमा सकारात्मक उर्जा पैदा गराएर एक गतिशील वातावरण निर्माण गर्दछ । जहाँ सबैजना आफ्नो दायित्व र भूमिकाका बारे स्पष्ट मात्र हुँदैनन, उनीहरु आफ्नो भूमिकालाई अझै उपलब्धीपूर्ण बनाउन सोच्न थाल्दछन् ।
विद्यालयको नेतृत्व दूरदर्शी भएमा सिकाइ उपलब्धी निर्धारित लक्ष्य अनुरुप हासिल हुन्छ । वार्षिक क्यालेन्डरमा हुने नियमित काम मात्र होइन, अझ थप कार्यहरु समेत सम्पन्न हुन्छन् । विद्यार्थीहरू आलोचनात्मक सोचमा निपूर्ण हुन्छन्, शिक्षकहरू नवप्रवर्तनमा सक्रिय हुन्छन्, र अभिभावकहरू सशक्त साझेदारका रूपमा संलग्न हुन्छन् । असल नेतृत्वले नियमित कामकार्यहरुको अलावा नयाँ नयाँ सिर्जनात्मक कार्यहरुको योजना बनाइरहेको हुन्छ । सम्पादन भएका कामकार्यहरुको बहुपक्षीय विश्लेषण गरेर त्यसमा आवश्यक परिमार्जनको योजना बनाइरहेको हुन्छ । नेपालका सामुदायिक विद्यालयका प्रधानाध्यापक एउटा त्यस्तो जिम्मेवारीमा छन्, जसबाट स्पष्टतः परिणाम निकाल्न सकिने अवस्था छ । एउटा विद्यालय बदलियो भने, त्यस वरिपरिको समाज बदलिन्छ, समाज बदलियो भने देश बदलिन धेरै टाढा सोच्नु पर्दैन । त्यसैले हरेक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सदैव दूरदर्शी हुनुपर्दछ । उनीहरुले विद्यालयलाई कस्तो बनाउने भन्ने स्पष्ट मार्गीचत्र तय गर्नुपर्दछ । क्त्भ्ः शिक्षालाई प्राथमिकता दिने होस् वा समावेशी वातावरण निर्माण गर्ने कार्यमा प्रअ जहिले पनि अग्रसर हुनुपर्दछ । प्रअले तथ्याङ्हरु प्रयोग गरेर प्रगति ट्र्याक गर्ने र परियोजना–आधारित सिकाइ जस्ता रणनीतिहरू लागु गरिरहनुर्पछ । त्यसबाट मूर्त परिणामनिकाल्न सकिन्छ ।
निर्देशात्मक नेतृत्वः शिक्षण र सिकाइको उत्थान
प्रधानाध्यापक एक विशेष जिम्मेवारी हो । गतिशील सोंच र निरन्तर नयाँ नयाँ कार्य गर्न अग्रसर भएमा मात्र यो जिम्मेवारी परिणाममुखी हुन्छ । यो जिम्मेवारीमा रहने शिक्षकमा स्पष्ट दृष्टिकोण हुनुपर्दछ । उसले निरन्तर कक्षाकोठाहरुको अवलोकन गर्ने, शिक्षकसँग सहकार्य गर्ने, शिक्षण सिकाइ प्रभावकारी तथा परिणामुखी बनाउन स्पष्ट निर्देशन दिनुपर्दछ । निर्देशात्मक नेतृत्व शैक्षिक प्रगतिको मेरुदण्ड हो । यस्ता प्रधानाध्यापकहरूले पाठ्यक्रम विकास, व्यावसायिक तालिम र तथ्याङ्कमा–आधारित निर्देशनलाई प्राथमिकता दिएर शिक्षणको गुणस्तर वृद्धि गर्न सक्छन् । अमेरिकामा रहेको वालेस फाउन्डेसनले २०२० मा गरेको एक अध्ययनअनुसार निर्देशात्मक नेतृत्वमा केन्द्रित प्रधानाध्यापकहरूले विद्यार्थीको सिकाइ उपलब्धी र परीक्षामा नतिजा १०% सम्म सुधार ल्याएको पाइएको छ । विद्यालयमा नयाँ नयाँ प्रयोग गरेर शिक्षक र विद्यार्थीहरुको उत्साह र उर्जालाई बदल्न सकिन्छ । त्यसका लागि प्रधानाध्यापक कहिले पनि निर्णयको बन्दी हुनुहुँदैन । कामकार्यमा अलमल हुनुहुँदैन । हरेक काममा स्पष्ट निर्देशन दिन सक्ने विशेष क्षमता विद्यालयको नेतृत्वमा हुन जरुरी हुन्छ । साथै निर्देशनहरु मनोगत नभई वस्तुगत हुनुपर्दछ, जसमा अरुको भावना, बुझाइ समावेश गर्नु राम्रो हुन्छ ।
सहानुभूति र सम्बन्ध निर्माणः विद्यालय संस्कृतिको आत्मा
सहानुभूति विद्यालय समुदायलाई जोड्ने कडी हो । उत्कृष्ट प्रधानाध्यापक कार्यमुखी हुन्छ र काम गर्ने अन्य शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई उत्साह भर्छ । प्रअले विद्यालयमा विद्यार्थीको प्रतिक्रिया, सुझाव तथा उनीहरुको मनोभावना बुझ्नुपर्दछ । शिक्षक, अभिभावक र विद्यार्थीको चिन्ताचासो सुन्नुपर्दछ । प्रधानाध्यापकले अतिरिक्त समय दिने शिक्षकलाई सधै धन्यवाद दिनुपर्दछ । प्रअले विद्यालय परिवारबीच मधुरतापूर्ण सम्बन्ध विकास गर्न र विद्यालय बाहिर समेत जिवन्त सम्बन्ध बनाउनुपर्दछ । सबैको भावनात्मक र मनोवैज्ञानिक आवश्यकताप्रति संवेदनशील हुनुपर्दछ्, जसले विश्वास र अपनत्वको भावना बढाउँछ । २०२१ मा भएको एक अध्ययनले सहानुभूतिपूर्ण प्रधानाध्यापकहरू भएका विद्यालयहरूमा शिक्षकको काम चाप १५% ले कम भएको र विद्यार्थी उपस्थिति उच्च बढेको पाइएको छ । विद्यालयमा परामर्श कार्यक्रम वा मानसिक स्वास्थ्य कार्यक्रम लागु गर्दा विद्यालयमा ड्रपआउट दर ८% सम्म घटेको पाइएकोछ । जसले समग्र मनोबल र शैक्षिक फोकस बढाउछ ।
प्रभावकारी सञ्चारः विश्वासको पुल निर्माण
प्रभावकारी सञ्चारले प्रधानाध्यापकलाई विद्यालय समुदायसँग जोड्छ । सरोकारवालाहरूलाई जोड्छ र विश्वास निर्माण गर्छ । जब प्रअ स्पष्ट, इमानदार र प्रेरणादायी सञ्चारको प्रयोग गर्न सक्षम हुन्छन्, तब शिक्षक, विद्यार्थी र अभिभावकबीच विश्वासको बलियो आधार तयार हुन्छ । यो विश्वासले सहकार्य, सहभागिता र सकारात्मक परिवर्तनलाई प्रोत्साहन गर्छ । उदाहरणका लागि, नियमित अभिभावक–शिक्षक बैठक, शिक्षकहरूसँग रचनात्मक छलफल र विद्यार्थीहरूको राय सुन्ने संस्कृतिले सबैलाई अपनत्वको भावना विकास हुन्छ । एक कुशल प्रधानाध्यापकको प्रभावकारी सञ्चारले विश्वासको पुल निर्माण गर्छ । प्रभावकारी सञ्चारले विद्यालयलाई शैक्षिक र सामाजिक रूपमा समृद्ध बनाउँछ । यो गुणले प्रअलाई नेतृत्व, सहानुभूति र व्यवस्थापनमा अब्बल बनाउँछ । समग्र विद्यालय समुदायको विकासमा योगदान पु¥याउँछ ।
प्रभावकारी सञ्चारका तीन पक्ष हुन्छन्ः
१) स्पष्टता र पारदर्शिताः कुशल प्रधानाध्यापकले आफ्ना विचार, नीति र निर्णयहरू स्पष्ट रूपमा शिक्षक, विद्यार्थी र अभिभावकसामु प्रस्तुत गर्छ । यो पारदर्शिताले विश्वासको वातावरण सिर्जना गर्छ ।
२) सक्रिय श्रवणः विद्यालयको नेतृत्वले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकका कुरा ध्यानपूर्वक सुन्छन्, जसले सबैको भावना र विचारलाई सम्मान भएको अनुभव गराउँछ । भनिन्छ कि एक कुशल स्रोता मात्रै कुशल वक्ता बन्न सक्दछ । आफ्नो कुरामात्रै गर्न रुचाउने स्वभाव भएको व्यक्तिको नेतृत्व प्रभावकारी हुँदैन । कुशल नेतृत्वले सक्रिय रूपमा सुन्छन्, पारदर्शी रूपमा सूचना साझा गर्छन् र खुला संवादलाई प्रोत्साहन गर्छन् ।
३) द्विपक्षीय संवाद र प्रेरणादायी सञ्चारः कुशल प्रधानाध्यापकले एकोहोरो एकतर्फी निर्देशनको सट्टा, संवादलाई प्रोत्साहन गर्नुपर्दछ । यसले सहकार्य र सहभागितालाई बढावा दिन्छ । सकेसम्म अरुलाई कुरा गर्ने अवसर दिनुपर्दछ । सबैका बीचमा एक भावनात्मक संवादको वातावरण निर्माण गर्नुपर्दछ । सबैको कुरा राम्रोसँग सुनेपछि मात्रै आफ्नो कुरा राख्नुपर्दछ । प्रअले प्रेरणादायी शब्दहरूबाट शिक्षक र विद्यार्थीलाई प्रेरित गर्न सक्नुपर्दछ्, जसले सकारात्मक कार्यसंस्कृति निर्माण गर्छ ।
समस्या समाधान र अनुकूलन क्षमताः चुनौतीहरूको सामना
समस्या समाधान र अनुकूलन क्षमता एक कुशल प्रधानाध्यापकमा हुनुपर्ने आधारभूत गुण हो । यसले उनलाई जटिल र परिवर्तनशील परिस्थितिमा पनि विद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, शिक्षक र विद्यार्थीहरूलाई प्रेरित गर्न, र समुदायको विश्वास जित्न सहयोग गर्छ । यस्ता गुणले प्रधानाध्यापकलाई चुनौतीहरूलाई अवसरमा परिणत गर्न सक्षम बनाउँछ, जसले विद्यालयको समग्र विकासमा योगदान पु¥याउँछ । समस्या समाधानका लागि निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छः
विश्लेषणात्मक सोचः
एक कुशल प्रधानाध्यापकले समस्याको मूल कारण पहिचान गर्न सक्नुपर्छ । कुशल प्रधानाध्यापकले जटिल परिस्थितिको गहिरो विश्लेषण गर्छन् । उनीहरूले समस्याको मूल कारण पहिचान गरी तथ्य र प्रमाणमा आधारित निर्णय लिन्छन् । उदाहरणका लागि, यदि विद्यार्थीहरूको शैक्षिक नतिजा कमजोर छ भने, यो शिक्षण विधि, स्रोतको कमी, वा विद्यार्थीको मनोवृत्तिसँग सम्बन्धित हुन सक्छ । त्यस्तै विद्यार्थीको शैक्षिक प्रगति वा शिक्षकको कार्यसम्पादनमा सुधार आवश्यक भएमा, उनीहरूले तथ्याङ्कको आधारमा उपयुक्त कदम चाल्छन् । यस्ता समस्याहरूलाई गहिरिएर विश्लेषण गरी समाधानको रणनीति बनाउन सक्नुपर्छ । समस्याको विविध आयामहरु विश्लेषण गर्ने, अरुको बुझाइ तथा सुझावलाई केलाउने र समाधानको उपाय पत्ता लगाउनुपर्दछ ।
निर्णय लिने क्षमताः
एक कुशल प्रधानाध्यापकको निर्णय लिने क्षमता अत्यन्त महत्वपूर्ण गुण हो । यसले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर र कार्य वातावरणमा प्रत्यक्ष प्रभाव पार्छ । निर्णय लिने क्षमताले प्रधानाध्यापकलाई विद्यालयको नेतृत्व प्रभावकारी रूपमा गर्न, शैक्षिक वातावरण सुधार्न र समुदायमा विश्वास कायम राख्न मद्दत गर्छ । नेतृत्वको यो क्षमताले संस्था कहिले पनि अनिर्णयको बन्दी हुँदैन । अलमलिएर रुमल्लिनु पर्दैन । यो गुणले उनीहरूलाई चुनौतीहरूको सामना गर्न र विद्यालयलाई सफलताको दिशामा डो¥याउन सक्षम बनाउँछ । प्रधानाध्यापकले दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर निर्णय लिनुपर्दछ । तत्कालको समाधान मात्र नभई विद्यालयको भविष्यलाई समेत विचार गरेर निर्णय लिनुपर्दछ । जस्तै, नयाँ शैक्षिक नीति लागु गर्दा यसले विद्यार्थी र शिक्षकमा कस्तो प्रभाव पार्छ भन्ने कुरा उनीहरूले पूर्वानुमान गर्नुपर्दछ । त्यसैगरी निर्णय लिँदा निष्पक्षता र पारदर्शिता कायम राख्नु आवश्यक हुन्छ । कुशल प्रधानाध्यापकले कुनै पनि पक्षपात नगरी सबैको हितलाई ध्यानमा राखेर निर्णय लिनुपर्दछ । विद्यालय नेतृत्वले उपलब्ध जानकारी, परिस्थिति, र विकल्पहरूको विश्लेषण गरी उचित र प्रभावकारी निर्णय गर्नुपर्दछ । यो क्षमता व्यक्तिको बौद्धिक, भावनात्मक, र अनुभवमा आधारित हुन्छ ।
सहकार्य र संवादः
समस्याको समाधानमा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूसँग सहकार्य गर्नु महत्वपूर्ण हुन्छ । प्रधानाध्यापकले निर्णय लिनुअघि शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको रायलाई पनि समावेश गर्नु जरुरी हुन्छ । सबै पक्षको विचार सुनेर समाधानको बाटो पहिल्याउँदा त्यसले निर्णयलाई थप प्रभावकारी र स्वीकार्य बनाउँछ । उदाहरणका लागि, विद्यालयमा स्रोतको अभाव भएमा अभिभावक र समुदायसँग मिलेर कोष सङ्कलन वा वैकल्पिक उपाय खोज्न सक्छ ।
रचनात्मकताः
समस्याको समाधानमा रचनात्मक दृष्टिकोण अपनाउनु आवश्यक हुन्छ । उदाहरणका लागि, यदि बजेटको कमीले नयाँ शैक्षिक सामग्री किन्न असम्भव छ भने, उपलब्ध स्रोतहरूलाई नवीन तरिकाले प्रयोग गर्न सकिन्छ । जस्तै विद्यालयमा शैक्षिक जनशक्ति अभाव भएमा समुदायका विशेषज्ञहरूलाई अति(थि शिक्षकको रूपमा आमन्त्रणको तालिका बनाएर विद्यार्थीको सिकाइ क्रियाकलाप पूरा गर्न सक्नुपर्दछ । एक प्रधानाध्यापकको दिमागमा सधै नयाँ रचनात्मक कामको सोंच बनिरहनुपर्दछ । तबमात्र उसले विद्यालयलाई समग्र विकासको हवका रुपमा विकास गर्न सक्दछ ।
निरन्तर सिकाइः
एक प्रधानाध्यापकले आफूलाई सधैं अपडेट राख्नुपर्दछ । नयाँ शैक्षिक प्रविधि, नेतृत्व रणनीति, वा व्यवस्थापनका तरिकाहरू सिकेर आफूलाई परिवर्तनशील वातावरणमा सान्दर्भिक बनाइराख्नुपर्छ । नेतृत्व कला, व्यवस्थापन कला, शिक्षण कला मात्र नभई समसामयिक घटनाक्रमहरुका बारेमा पनि प्रअले आफूलाई अद्यावधिक गराइराख्नु जरुरी हुन्छ । मानिसमा अन्तरनिहित ज्ञानले एकातिर व्यक्तिको आत्(मबललाई दह्रो र उचो बनाउँछ भने अर्कोीतर उसको नेतृत्व क्षमतामाथि अरुको विश्वास बढाउन मद्दत गर्दछ ।
चुनौतीहरूको सामना
विद्यार्थीहरूको विविध आवश्यकता, शिक्षकहरूको व्यावसायिक विकास, र स्रोतको सीमितताले चुनौतीहरू निम्त्याउँछ । यस्ता चुनौतीहरूको सामना गर्न प्रधानाध्यापकले रणनीतिक योजना बनाउनुपर्छ । जस्तै शिक्षक तालिम, अभिभावक संलग्नता, वा बाह्य सहयोगको खोजीमा निरन्तर पहलकदमी लिनुपर्दछ । विद्यालयमा विभिन्न पृष्ठभूमिका विद्यार्थी र शिक्षकहरू हुन्छन् । सांस्कृतिक संवेदनशीलता र समावेशी वातावरण सिर्जना गर्नु एक कुशल प्रधानाध्यापकको कर्तव्य हो । बजेट व्यवस्थापन, सरकारी नीतिहरूको पालना, र कर्मचारी व्यवस्थापन जस्ता कार्यहरूमा पनि अनुकूलन र समस्या समाधानको आवश्यकता पर्छ । यस्ता चुनौतीहरुको सामना गर्न प्रधानाध्यापक सदैव तयार हुनुपर्दछ ।
बजेट कटौती वा नीतिगत परिवर्तनले अवरोध सिर्जना गर्दा, उत्कृष्ट प्रधानाध्यापकहरू रचनात्मक रूपमा अनुकूल वातावरण निर्माण गर्छन् । उनीहरूले अनुदान सुरक्षित गर्छन् वा हाइब्रिड सिकाइ जस्ता समाधानहरू लागु गर्छन् ।
निष्ठा र निष्पक्षताः नैतिक नेतृत्व
निष्ठा र निष्पक्षता एक कुशल प्रधानाध्यापकका आधारभूत गुण हुन्, जसले नैतिक नेतृत्वलाई बलियो बनाउँछ । यी गुणले विद्यालयलाई शैक्षिक, सामाजिक र नैतिक रूपमा समृद्ध बनाउँछ । विद्यालयको वातावरणलाई विश्वासिलो, समावेशी र प्रेरणादायी बनाउँछ । जब प्रधानाध्यापकले यी मूल्यहरूलाई आफ्नो कार्यशैलीमा समाहित गर्छन्, तब उनीहरूले विद्यार्थी, शिक्षक र समुदायका लागि प्रेरणाको स्रोत बन्छन् र विद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउँछन् । प्रधानाध्यापकले आफैं नियमको पालन गरेर उदाहरणीय व्यवहार देखाउनुपर्छ । बाह्य दबाब वा व्यक्तिगत पूर्वाग्रहबाट टाढा रही नैतिकता र निष्पक्षता कायम राख्न निरन्तर आत्ममूल्याङ्कन, नैतिक शिक्षा र खुला संवाद आवश्यक हुन्छ । यी गुणहरू विद्यालयको सफल र सम्मानित नेतृत्वका आधारस्तम्भ हुन् ।
१) निष्ठा (इमानदारी र प्रतिबद्धता)ः
प्रधानाध्यापकमा इमानदारी, पारदर्शिता, नैतिक मूल्यप्रतिको प्रतिबद्धता हुन आवश्यक हुन्छ । व्यक्तिगत लाभभन्दा विद्यालयको हितलाई प्राथमिकता दिन्छन्, गल्ती भएमा जिम्मेवारी स्वीकार गर्छन् र सुधारतर्फ कदम चाल्नुपर्छ ।
२) निष्पक्षता (सबैप्रति समान व्यवहार)ः
प्रधानाध्यापकले विद्यार्थी, शिक्षक वा कर्मचारी सबैलाई समान अवसर दिनुपर्दछ । निर्णयहरू तथ्यमा आधारित हुन्छन्, पक्षपात वा भेदभाव नगरी न्यायपूर्ण अनुशासन कायम राख्नुपर्दछ । सबैको आवाज सुन्ने, समावेशी दृष्टिकोण अपनाउने र विविधताको सम्मान गर्ने व्यवहार देखाउनुपर्दछ ।
३) नैतिक नेतृत्व (उदाहरणीय र प्रेरणादायी कार्यशैली)ः
निष्ठा र निष्पक्षताले प्रधानाध्यापकलाई नैतिक नेता बनाउँछ । उनीहरूको व्यवहारले विद्यालयमा विश्वास, सहकार्य र सकारात्मक संस्कृतिको विकास गर्छ । संस्थागत विकासमा टेवा पु¥याउँछ, अभिभावक र समुदायको समर्थन पाउँछ, र द्वन्द्व समाधानमा निष्पक्ष भूमिका खेल्छ ।
२०२० को जर्नल अफ स्कूल लिडरशिपको अध्ययनबाट निष्पक्षतालाई प्राथमिकतामा राख्ने विद्यालयहरूमा अनुशासनात्मक घटनाहरू २५% कम भएको पाइएको छ । पारदर्शी नीतिले सम्मान र बलियो स्कूल संस्कृति निर्माण गर्दछ ।
सामुदायिक संलग्नताः साझेदारीको शक्ति
सामुदायिक संलग्नता भनेको विद्यालय, अभिभावक, स्थानिय तह, तथा समुदायबीच सशक्त सहकार्य र संवाद स्थापित गर्नु हो । यो गुण प्रधानाध्यापकमा अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने विद्यालय केवल शिक्षण संस्था मात्र नभई समुदायको केन्द्र पनि हो । एक सक्षम प्रधानाध्यापकले समुदायका सरोकारवाला पक्षहरूसँग विश्वास र समझदारीको सम्बन्ध बनाउँछ, अभिभावकहरूलाई विद्यालय गतिविधिमा सहभागी गराउँछ, र स्थानिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न जान्दछ । यसले विद्यालयको समग्र वातावरणमा सकारात्मक प्रभाव पार्छ, शैक्षिक गुणस्तर, विद्यार्थीको उपस्थिति, र परिणाममा उल्लेखनीय सुधार ल्याउँछ । यसर्थ, ’साझेदारीको शक्ति’ प्रधानाध्यापकको नेतृत्व क्षमतामा आधारभूत तत्व मानिन्छ, जसले विद्यालय र समुदायलाई एउटै साझा लक्ष्यतर्फ अघि बढाउँछ ।
निष्कर्षः
प्रधानाध्यापक विद्यालयको मेरुदण्ड हुन् । उनीहरूको गुण, सोच, कार्यशैली र नेतृत्व क्षमताले विद्यालयको सम्पूर्ण रूपान्तरण सम्भव बनाउँछ । उत्कृष्ट प्रधानाध्यापक प्रशासक मात्र होइनन्, उनीहरू दूरदर्शी अगुवा, कुशल व्यवस्थापक, संवेदनशील संरक्षक, र परिवर्तनका उत्प्रेरक हुन् । प्रधानाध्यापक उच्च नैतिकवान नेतृत्वकर्ता, कुशल व्यवस्थापक, असल अभिभावक र उत्कृष्ट समन्वयकर्ता हो । विद्यालयका लागि प्रधानाध्यापकले आफ्नो सम्पूर्ण समय समर्पण गर्नुपर्दछ । अरु शिक्षकको जस्तो १० देखि ५ बजेसम्मको समय दिएर पुग्दैन । आफ्नो पूरापुर समय लगाएर विद्यालयको सम्पूर्ण अवस्था बदल्छु भन्ने दृढ संकल्प लिएर शतप्रतिशत प्रयास गरेमा सामुदायिक विद्यालयहरु साँच्चिकै बदल्न सम्भव छ । दूरदर्शी नेतृत्वले विद्यालयको दिशानिर्देश तय गर्छ भने निर्देशात्मक नेतृत्वले शिक्षण र सिकाइमा गुणात्मक सुधार ल्याउँछ । सहानुभूति र सम्बन्ध निर्माणले विद्यालयलाई आत्मीयताको केन्द्र बनाउँछ । प्रभावकारी सञ्चारले विश्वास र सहकार्यको पुल निर्माण गर्छ, जसले विद्यालयलाई सामूहिक प्रयासको सफल उदाहरण बनाउँछ । साथै, समस्याको समाधान र अनुकूलन क्षमताले प्रधानाध्यापकलाई चुनौतीहरूमाझ पनि नयाँ अवसर सिर्जना गर्न सक्षम बनाउँछ । निष्ठा र निष्पक्षताले उनको नेतृत्वलाई नैतिक बल दिन्छ, जसबाट विद्यार्थी, शिक्षक र समुदाय सबै प्रेरित हुन्छन् ।
यसैले, नेपालका सामुदायिक विद्यालयमा रूपान्तरण ल्याउन उत्कृष्ट नेतृत्व क्षमतायुक्त प्रधानाध्यापकको भूमिका अनिवार्य छ । जब प्रधानाध्यापकमा यी गुणहरू एकसाथ समाहित हुन्छन्, तब विद्यालय मात्र होइन, त्यस वरिपरिको समाज पनि शिक्षित, सशक्त र समुन्नत बन्छ । यसकारण, विद्यालयको समृद्धिको मूल कुञ्जी प्रधानाध्यापककै गुण, दृष्टिकोण र नेतृत्वमा निहित छ ।


