काठमाडौं । कीर्तिपुर नगरपालिकाभित्रका अधिकांश सामुदायिक विद्यालयहरू निमित्त प्रधानाध्यापकका भरमा सञ्चालन भइरहेको पाइएको छ । विद्यालयहरू निमित्त प्रधानाध्यापकका भरमा रहेपछि निमित्तका भरमा विद्यालय नचलाउन भन्दै कीर्तिपुर नगरपालिकाको नगर शिक्षा समितिले ताकेता गरेको छ ।
कानुनअनुसार स्थायी प्रअको व्यवस्था गर्न जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले भाद्र १३ गते सबै स्थानीय तहका शिक्षा विभागलाई पत्राचार गरेपछि कीर्तिपुर नगर शिक्षा समितिले पनि विद्यालय व्यवस्थापनमा कडाइ गर्न थालेको छ ।
नगर शिक्षा समितिको असोज ३० गतेको बैठकले कीर्तिपुरका विद्यालयहरूमा कानुनअनुसार स्थायी प्रअ व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्तिक १४ गते सबै विद्यालयहरूलाई स्थायी प्रअ व्यवस्थापन गर्न पत्र पठाइएको कीर्तिपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
हाल कीर्तिपुर नगरपालिकाअन्तर्गत रहेका १२ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये केवल दुई विद्यालयहरु— बालकुमारी माध्यमिक विद्यालय र मंगल माध्यमिक विद्यालयमा मात्र कानुनअनुसार स्थायी प्रअ व्यवस्थापन भएको छ । आदिनाथ मावि र जनसेवा माविमा भने प्रअको कार्यकाल समाप्त भइसकेको छ । ती दुबै माविमा पुरानै प्रअले दोहोरिनका लागि निवेदन दिएको जनाइएको छ ।
नगरभित्रका सबै विद्यालयमा अझै विचित्र स्थिति रहेको छ । विश्व राष्ट्रिय माध्यमिक विद्यालय ढल्पामा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भइरहेको भए पनि माध्यमिक तहको दरबन्दी नै छैन । दरबन्दी अभावका कारण त्यहाँका निम्न माध्यमिक शिक्षकले नै प्रअको जिम्मेवारी सम्हाल्नुपरेको छ । यो समस्याको समाधानका लागि दरबन्दी मिलानको प्रक्रिया भइरहेको शिक्षा शाखाले जनाएको छ ।
त्यस्तै, गोरखनाथ माध्यमिक विद्यालयमा माध्यमिक तहका शिक्षक रहेको भए पनि उनले प्रअको जिम्मेवारी लिन अस्वीकार गरेपछि राहत दरबन्दीका शिक्षकलाई निमित्त प्रअ बनाइएको छ । टौदह राष्ट्रिय माविमा दोस्रो तहका शिक्षकले प्रअको जिम्मेवारी सम्हालेका छन् भने वैष्णवी मावि र कीर्तिपुर माविमा प्राथमिक तहका शिक्षकले नै माध्यमिक विद्यालय सञ्चालन गरिरहेका छन् ।
यस्तै, बागभैरव मावि, इन्द्रेणी आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालय पनि निमित्त प्रअकै भरमा सञ्चालन भइरहेका छन् । नगर शिक्षा समितिको बैठकपछि सबै विद्यालयलाई प्रअ व्यवस्थापनका लागि पत्र पठाइएको भए पनि दशैं–तिहार बिदाका कारण पत्राचार ढिलो भएको शिक्षा शाखाले स्पष्ट पारेको छ ।
कीर्तिपुर नगरपालिकाकी शिक्षा अधिकारी कमला पोखरेलका अनुसार, उक्त पत्राचार जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको निर्देशन र नगर शिक्षा समितिको निर्णयअनुसार गरिएको हो । उनले स्थायी प्रअ चयन प्रक्रिया रोस्टर प्रणालीमार्फत हुने, जसमा उमेदवारको पाँच वर्षे विद्यालय सुधार प्रस्ताव, सेवा अवधिको मूल्यांकन, र मूल्यांकन समितिको सन्तुष्टिबाट अन्तिम निर्णय गरिने बताइन । पोखरेलका भनिन्, ”उमेदवारले तयार पारेको विद्यालय सुधार प्रस्ताव र मूल्यांकनमा समिति सन्तुष्ट भएमा, प्रअ पुनः दोहोरिन पनि सक्ने व्यवस्था रहेको छ।”
विद्यालयहरू अझै पनि निमित्त प्रधानाध्यापकका भरमा सञ्चालन भएका कारण कीर्तिपुर नगरपालिकाभित्रको विद्यालय व्यवस्थापनमा दीर्घकालीन स्थायित्वको अभाव देखिएको छ ।


