काठमाडौँ । काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीमा सञ्चालनमा रहेका प्रोलिफिक माध्यमिक विद्यालय र साइपाल एकेडेमीबीच विद्यार्थीको दोहोरो रजिस्टेशन र ग्रेडसिट प्रकरण थप बल्झिएको छ । यो प्रकरणले लहरो तान्दा पहरो खस्ने देखिएको छ ।
प्रोलिफिक माविका विद्यार्थी प्रशान्त विष्टको २०८० को कक्षा ११ को परीक्षाको दोहोरो रजिस्ट्रेसन र दोहोरो ग्रेडसिट तथा कक्षा १२ को २०८१ को दोहोरो प्रवेश पत्र र ग्रेडसिट फेला परेको हो । उनकाे एकैसाथ प्रोलिफिक र साइपाल एकेडेमीबाट समेत परीक्षा दिइएको पाइएको छ। कक्षा र ११ र १२ मा दुबै विद्यालयको नाममा परीक्षा प्रवेशपत्र जारी भई ग्रेडसिटसमेत जारी भएको तथ्य फेला परेको छ।
यो घटनापछि राष्ट्रिय परीक्षा बोर्डले बिष्टसहित प्रोलिफिक माविका पाँच जना विद्यार्थीहरुको कक्षा १२ को परीक्षा रद्द गरेको छ । परीक्षा रद्द हुनेमा प्रशान्त विष्ट, दीपक महत, तिलबहादुर महत, मुकेश चन्द र विकेश न्यौपाने रहेका छन् । दीपक महत र तिलबहादुर महत पूर्व प्रधानाध्यापक गोपालबहादुर महतका सहोदर भाई हुन् ।
यसअघि पनि नक्कली परीक्षार्थी खडा गरेको थाहा भए पछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले प्रोलिफिक माविका तत्कालीन प्रधानाध्यापक गोपालबहादुर महत र सहायक शिक्षक सरोज न्यौपानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
उनीहरुका विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुलुकी अपराध संहिता, २०७४ अनुसार “अन्य सरकारी वा सार्वजनिक लिखत किर्ते” मुद्दामा २०८१ जेठ ११ मा ००–१–९९७७ नम्बरमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौँले २०८१ मंसिर २ गते फैसला गर्दै महतलाई छ महिनाको कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। शिक्षक न्यौपानेले भने सफाइ पाएका छन्।
शिक्षा मन्त्रालयमा परेको उजुरीका आधारमा मन्त्रालयले २०८१ माघ १८ गते राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौँ महानगरपालिकालाई उक्त विषयमा आवश्यक अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको थियो । तर, मन्त्रालयको पत्र काठमाडौँ शिक्षा विभागमा दर्ता नै नगरी गायब पारिएको भन्दै नियमनकारी निकायमाथि समेत मिलेमतोको आशंका उठेको छ।
यस घटनाबारे जानकारी माग्दा साइपाल एकेडेमीका प्रधानाध्यापक गणेश जोशीले विद्यार्थी प्रशान्त विष्ट आफ्नो विद्यालयमा भर्ना भई कक्षा १२ पास गरेको पुष्टि गरेका छन्। तर प्रोलिफिक माविका पूर्वप्रधानाध्यापक महत भने सम्पर्कमा आएनन्।
राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले मन्त्रालयले निर्देशन गरेको आधारमा विद्यालयलाई स्पष्टिकरण सोधिएकाे र थप अनुसन्धान गरिरहेको जानकारी दिइन । उनले कक्षा ११ को परीक्षा विद्यालयले नै लिने भएकाले सम्बन्धित विद्यालय नै जिम्मेवार हुँने जनाइन् ।
यसअघि कक्षा १२ को २०८१ को परीक्षाको प्रवेशपत्रमा नक्कली परीक्षार्थी खडा गर्न नक्कली फोटो टाँसेको जानकारी भएपछि प्रोलिफिक माविका प्रशान्त विष्टसहित पाँचजना दिपक महत, तिलबहादुर महत, मुकेश चन्द र विकेश न्यौपानेको परीक्षा रद्द भएको थियो । तर, प्रशान्त विष्ट नाम गरेका विद्यार्थीले नजिकैको विद्यालय साइपाल एकेडेमीबाट कक्षा ११ भर्ना भएर २०८० को कक्षा ११ परीक्षा दिएको र २०८१ को कक्षा १२ को समेत परीक्षा पनि साइपाल एकेडेमीबाटै परीक्षा दिइ उत्तीर्ण गरेको फेला परेको छ ।
यसरी एकै शैक्षिक शत्रमा एकै समयमा हुने परीक्षामा कक्षा ११ को दोहोरो रजिस्ट्रेशन र दोहोरो ग्रेडसिट हुनु र एकै समयको कक्षा १२को परीक्षाको प्रवेशपत्र जारी भएको पाइएपछि यस कार्यमा नियमक निकायको समेत सम्लग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । यसरी अरुको परीक्षा रद्द हुने तर रद्द भएका मध्ये एकजनाको भने अर्को स्कूलबाट उत्तीर्ण भएको थाहा पाएपछि अरुले यसबारे अनुसन्धान गर्नुपर्ने आवाज उठाएका छन् ।
यस विषयमा सरोकारवाला एक अविभावकले शिक्षा मन्त्रालयमा उजुरी समेत दिएका थिए । उक्त उजुरी पछि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई र काठमाडौ महानगरपालिकालाई प।सं। २०८/०८२ च.नं. क्रमशः १९२ र १९३ को पत्र पठाइ कारवाही गर्न निर्देशन दिएको छ । काठमाडौ महानगरपालिका र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीलाई २०८१ माघ १८ गते निर्देशन दिएको पत्र समेत एडुप्रेस एनपी डटकमले फेला पारेको छ । उक्त पत्रमा भनिएको छः
“विषय: आवश्यक कार्यबाही सम्बन्धमा ।
श्री काठमाडौँ महानगरपालिका, काठमाडौँ
श्री राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, काठमाडौँ
प्रस्तुत विषयमा यस मन्त्रालयमा माननीय मन्त्रीज्यूलाई सम्बोधन गरी दोहोरो रजिस्टेशन गरी विद्यार्थी उत्तीर्ण गरेको तथा गैह्रकानुनी तवरले विद्यालय भाभ्ने कसुरदार ठहर व्यक्ति प्रधानाध्यापक भएको रोकिपाउ भनी विषयमा निवेदकले दिएको निवेदनमा र निवेदनसँग सँग्लग्न पाना ७ कागजात आवश्यक कार्याथ तहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।”
अनौठो त के भएको छ भने अनुसन्धानको क्रममा विष्ट आफूले प्रोलिफिक एकेडेमीमा भर्ना भएर एसइइ परीक्षा दिएको तर कक्षा ११ मा भर्ना नभएकोले कसरी आफ्नो नाम रजिस्ट्रेशन भयो भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले उक्त कार्य गर्नेलाई कारबाही गर्न माग गरेर राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश कार्यालयमा निवेदन समेत दिएका छन् ।
महानगरमै अनौठो खेल, मन्त्रालयको पत्र नै गायव
मन्त्रालयले पठाएको उक्त पत्र काठमाडौ महानगरमै गायब पारिएको छ । तर, काठमाडौ महानगरको एकल सेवा केन्द्रका कर्मचारी कमला पौडेलले उक्त पत्र सुरुमा बुझेको प्रमाण भने फेला परेको छ । पौडेलले गोश्वारा हुलाक डिल्लिबजारको हुलाकको वितरण पुस्तिका (पिओडि) को रेकर्डमा हेर्दा २०८१ माघ २१ गते पत्र बुझेकी थिइन । हुलाकबाट बुझेकाे रेकर्डमा कमला पाैडेलकाे हस्ताक्षर रहेकाे छ।
तर, काठमाडौ शिक्षा विभागको अनलाइन दर्तामा भने उक्त पत्र दर्ता गरिएको भेटिएन । यसबाट यहाँ पनि उक्त प्रकरणमा मिलेमतो भएको हुन सक्ने देखिएको छ । उक्त पत्र बुझ्ने महानगरकी कर्मचारी कमला पौडेललाई बुझ्दा त्यो पत्र आफूले बुझेर तत्कालीन शिक्षा विभाग प्रमुख गोविन्द शर्मालाई दिएको बताएकी छन् । उता गोविन्द शर्माले भने आफू २०८१ माघ १० गतेदेखि चैत १७ गतेसम्म बिदामा भएकाले उक्त पत्रबारे जानकारी नभएको जनाएका छन् । साथै उनले आफू विदामा रहेको समयमा शाखामा निमित्त प्रमुखको जिम्मेवारी केशव ज्ञवालीले सम्हालेको जानकारी दिए । गोविन्द शर्मा हाल सेवानिवृत्त भइसकेका छन् । हाल पनि काठमाडौ महानगरपालिकाको शिक्षा विभागको प्रमुखमा निमित्तको जिम्मेवारीमा केशव ज्ञवाली नै रहेका छन् । एडुप्रेस एनपी डटकमले सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
अर्कोतिर काठमाडौ महानगरपालिकाको संस्थागत विद्यालय नियमन गर्ने शिक्षा अधिकारी र वडा नम्बर ४ नियमन गर्ने विद्यालय निरिक्षक नेत्रनारायण पौडेल पनि यसबाट उम्किन खोजेका छन् । उनले एडुप्रेसले जानकारी माग्दा मन्त्रालयको पत्रलाई कसले कार्यान्ययन गर्छ र भन्ने अनौठो जवाफ दिए ।
शिक्षा क्षेत्रका सरोकारवालाले यो प्रकरणले विद्यालयहरूबीचको अनियमितता, नियमनको कमजोरी र नक्कली प्रमाणपत्र उत्पादनजस्ता गम्भीर समस्या उजागर गरेको टिप्पणी गरेका छन् ।


