एजेन्सी । बेलायतले विद्यालय शिक्षा प्रणालीलाई आधुनिक र व्यावहारिक बनाउन नयाँ पहल थालेको छ । अब देशभरका विद्यालयमा विद्यार्थीलाई बजेट कसरी बनाउने, मोर्टगेज (धितो प्रणाली) कसरी काम गर्छ, र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान पनि पढाइने भएको छ ।
सरकारले राष्ट्रिय पाठ्यक्रममा एक दशकपछि पहिलोपटक व्यापक समीक्षा गर्दै शिक्षालाई समयसापेक्ष बनाउन लागिएको हो । नयाँ पाठ्यक्रममा आर्थिक सचेतना मात्र होइन, झुटा समाचार र गलत जानकारी कसरी पहिचान गर्ने भन्ने विषय पनि समावेश गरिने बताइएको छ ।
शिक्षामन्त्री ब्रिगेट फिलिप्सन का अनुसार सरकार पाठ्यक्रमलाई आधुनिक बनाउँदै पनि अङ्ग्रेजी, गणित र पठनजस्ता आधारभूत विषयमा बलियो जग कायम राख्न चाहन्छ । उनका अनुसार, विद्यार्थीहरूलाई भविष्यका चुनौतीका लागि तयार पार्न यो पहल अपरिहार्य छ ।
तर विद्यालयका प्रधानाध्यापकहरूले यो सुधार योजनालाई व्यवहारिक बनाउन पर्याप्त बजेट र प्रशिक्षित शिक्षकको आवश्यकता पर्ने बताएका छन् । गत वर्ष सरकारले इङ्गल्यान्डमा राष्ट्रिय पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्दै विशेषगरी पछाडि परेका विद्यार्थी र अन्यबीचको उपलब्धि खाडल घटाउने उद्देश्य राखेको थियो ।
यो सुधारले बेलायती विद्यालय शिक्षालाई अझ व्यावहारिक, समसामयिक र जीवन उपयोगी बनाउने अपेक्षा गरिएको छ ।


