EduPress
'

यूएईका नक्कली इन्स्टिच्युटमा नेपाली विद्यार्थी ठगी, नेपालका १८ कन्सल्टेन्सी संलग्न

Author Image
बिहिवार, कार्तिक २७, २०८२
Text Size:

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई)का ‘फ्रि जोन’मा दर्ता भएका केही इन्स्टिच्युटले नेपाली विद्यार्थीलाई ठगी गर्दै आएको खुलासा भएको छ। नेपालका करिब १८ कन्सल्टेन्सीले मोटो रकम लिएर विद्यार्थीलाई त्यस्ता इन्स्टिच्युटमा पठाउने र पछि अलपत्र पार्ने गरेको पाइएको छ।

पीडित विद्यार्थीहरूले यूएईस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासमा उजुरी दिएका छन्। ती उजुरी परराष्ट्र मन्त्रालय हुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन्।

शिक्षामन्त्री महावीर पुनका अनुसार, केही कन्सल्टेन्सीहरूले यूएईको फ्रि जोनमा नक्कली कलेज दर्ता गरी विद्यार्थी पठाउने गरेको उजुरी आएको छ। “विद्यार्थीहरू त्यहाँ दुःख पाइरहेका छन्। छानबिन भइरहेको छ, कसैले पनि यस्ता जालमा नफसून्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

बिहीबार चार जना पीडित विद्यार्थीले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए। मन्त्रालयले उनीहरूलाई शिक्षा मन्त्रालय पठाएको थियो। “धेरै विद्यार्थी ठगिएका रहेछन्,” परराष्ट्र मन्त्रालयका स्रोतले जानकारी दियो।

दुबईस्थित महावाणिज्यदूत हरिप्रसाद ओडारीका अनुसार, हालसम्म ३५ भन्दा बढी नेपाली विद्यार्थी ठगिएका छन्। उनले भने, “फ्रि जोनका इन्स्टिच्युटले युनिभर्सिटी भनेर भ्रामक दाबी गर्दै रकम लिन्छन् र पछि सम्पर्क तोड्छन्।”

सबैभन्दा बढी विद्यार्थी ब्रिटिस युनिभर्सिटी कलेज इन्टरनेसनल (BICU) र सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज (CAMS) मा ठगिएका छन्। BICU ले पेरिस–अमेरिकन इन्टरनेसनल इन्स्टिच्युटसँग सम्बन्ध भएको दाबी गरे पनि त्यो झूटो पाइयो।

फ्रि जोनमा सहजै इन्स्टिच्युट खोल्ने र बन्द गर्ने सुविधा भएकाले धेरै यस्ता संस्था हराइसकेका छन्। न पढाइ हुने, न मान्य प्रमाणपत्र पाइने भएपछि विद्यार्थीले आफू ठगिएको बुझेका छन्। ओडारीका अनुसार, केही नेपाली कन्सल्टेन्सी पनि सीधै वा परोक्ष रूपमा ठगीमा संलग्न छन्।

पीडितहरूले दिएका विवरणअनुसार, यूएईका ती नक्कली इन्स्टिच्युटमा विद्यार्थी पठाउने सक्रिय १८ कन्सल्टेन्सीमा प्रो एभिएसन, सटक्शी एजुकेशन, एजुपोर्ट, शिव ह्युम एजुकेशन, अक्सब्रिज, मेरिट्स, ब्राइटपथ, सिटीहब, एस्पायर ग्लोबल, कान्तिपुर अब्रोड, सिटी पार्क, मेनटोरा, एक्सेल इन्टरनेशनल, सरम आई, एनटीइआर, ए.एस. एजुकेशन, सकुरा नेपाल र एजुगेट कन्सल्टेन्सी रहेका छन् ।

प्रतिक्रिया