काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले “सीजनल हाइपरएक्युट प्यानुभाइटिस (SHAPU)” सम्बन्धी विस्तृत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।
यो अध्ययन विश्वविद्यालयको राष्ट्रिय प्राथमिकता कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको थियो।
गत ५० वर्षमा नेपालमा हजारौं बालबालिकाले शापु रोगका कारण दृष्टि गुमाएका छन्। यो रोग प्रायः मनसुन सकिएपछि देखापर्छ र मङ्सिर–पुसमा बढी फैलिन्छ।
शापु सामान्यतया एक आँखामा मात्र असर गर्ने, छिटो बढ्ने र स्थायी अन्धोपन ल्याउने रोग हो। बिरामीको आँखामा अचानक रातोपन देखिन्छ र पुतली सेतो हुने (Red eye with white pupil) प्रमुख लक्षण हो।
अनुसन्धानले सेतो पतिंगा (Gazalina chrysolopha) सँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कले शापु संक्रमणको जोखिम बढाउने प्रमाण पाएको छ। रोगको ठ्याक्कै कारण अझै स्पष्ट नभए पनि पतिंगा र वातावरणीय तत्वबीचको सम्बन्ध महत्वपूर्ण देखिएको छ।
कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. मोहनराज शर्माले यस्ता अनुसन्धानले राज्यलाई नीतिगत मार्गदर्शन गर्ने बताएका थिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्राप्त निष्कर्षहरू राष्ट्रको स्वास्थ्य नीति निर्माणका लागि उपयोगी हुने बताए।
त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. ईश्वर कोइरालाले अध्ययनले राष्ट्रिय स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
अनुसन्धान टोलीमा डा. रन्जु खरेल सिटौला, डा. प्रताप कार्की र डा. दयाराम भुसाल रहेका थिए। शापु मेडिकल अध्ययनमा २०२३ को महामारीका ६३ र २०२४ का १८ केस विश्लेषण गरिएको थियो।
त्यसैगरी कीटविज्ञान अध्ययनमा २०० भन्दा बढी पतिंगा सङ्कलन गरी डीएनए बारकोडिङ, जीवनचक्र, बासस्थान र वातावरणीय सम्बन्धको अध्ययन गरिएको थियो। अध्ययनले शापुका केसहरू गण्डकी, बागमती र कोशी प्रदेशमा बढी देखिएको बताएको छ।
२०२४ मा पहिलो पटक जोडी वर्षमा पनि प्रकोप देखिनुले रोगको स्वरूप परिवर्तन हुँदै गएको संकेत गरेको छ।
पतिंगाको फैलावट तापक्रम, आर्द्रता र “उतीस” बोटको उपलब्धतासँग सम्बन्धित रहेको निष्कर्ष निकालिएको छ।
अन्ततः, अनुसन्धानले शापु रोग र सेतो पतिंगा बीचको वैज्ञानिक सम्बन्ध पुष्टि गरेको छ। यसले अन्धोपन रोकथामका लागि लक्षित जनस्वास्थ्य रणनीति, प्रमाण–आधारित उपचार र पतिंगा नियन्त्रणका उपायहरू तयार गर्न मार्ग प्रशस्त गरेको छ।
शोध प्रतिवेदनले भविष्यमा “वन हेल्थ” (One Health) दृष्टिकोण अपनाएर मानव, वातावरण र कीटविज्ञानबीचको सहकार्य बढाउन सुझाव दिएको छ।


