काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले नव नियुक्त शिक्षकलाई २ दिने सेवा प्रवेश तालिम सम्पन्न गरेको छ। तालिममा १३ जना माध्यमिक तृतीय श्रेणीमा नियुक्त शिक्षक सहभागी थिए। शिक्षक सेवा आयोगबाट सिफारिसपछि काठमाडौंमा स्थायी नियुक्तिका लागि आएका हुन् । स्थानीय तहले उनीहरूलाइ विद्यालय तोकी पदस्थापन समेत गरेकाे छ।
प्रशिक्षणमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी उपसचिव सरिता देवी शर्मा, पाठ्यक्रम विकास केन्द्रकी उपसचिव मैया खड्का, नेपाल सरकारका पूर्व उपसचिव मान बहादुर घिमिरे, रामप्रसाद सुवेदी र इकाईका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले समेत प्रशिक्षण दिएका थिए । तालिम कात्तिक ३१ गते सुरू भइ मंसिर १ गते समापन गरिएको थियाे।
तालिममा विद्यालय शिक्षाको पाठ्यक्रम, शिक्षकको पेशागत विकास, शैक्षिक योजना, सेवा–सुविधा, वृद्धि–विकास तथा शिक्षा योजनासम्बन्धी नीतिगत र कानूनी व्यवस्था समावेश थिए।
कार्यक्रममा १३ जना शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिनुका साथै उनीहरूलाइ इकाई प्रमुख समन्तमणि आचार्यले सपथ ग्रहण समेत गराएका थिए ।


