- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय तोडफोड भएको छ । त्रिवि चिकित्सााशास्त्र अध्ययन संस्थानमा एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।
विद्यार्थीहरुले अन्य संकायको जस्तै चिकित्साशास्त्रको परीक्षामा पनि विद्यार्थीहरुले सुविधा पाउनुपर्ने लगायतका माग राखेर आवाज उठाउँदै आएका थिए । त्रिविका अन्य संकायमा अघिल्लो वर्षमा सेमेस्टरको परीक्षा फाराम भरेर परीक्षा नदिए पनि अर्को वर्ष वा सेमेस्टरको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । तर, चिकित्साशास्त्रमा परीक्षा फाराम भरेर पनि केही विषयमा अनुत्तीर्ण भएमा पनि अर्को वर्ष वा सेमेस्टरमा जान पाइदैन । अघिल्लो वर्ष वा सेमेस्टरको सबै विषयमा उत्तीर्ण भएमा मात्र अर्को वर्ष वा सेमेस्टरमा पढ्न पाउने व्यवस्था छ । विद्यार्थीहरुले यो व्यवस्था विभेदकारी भएको र यसबाट विद्यार्थीहरुलाई ठूलो मर्का परेको बताएका छन् ।
विद्यार्थीहरुले अन्य संकायको जस्तै परीक्षामा फारम भरेर परीक्षा नदिएको वा परीक्षा दिएर अनुत्तीर्ण भएको भए पनि दोस्रो सेमेस्टरबाट तेस्रो सेमेस्टरमा पढ्न पाउनु पर्ने माग गरेका छन् ।
त्रिवि चिकित्साशास्त्र डीन कार्यालयले यो विषयलाई सम्वोधन गर्नुपर्ने तर नगरेपछि विद्यार्थीहरु उपकूलपतिको कार्यालयमा पुगेको बताएका छन् । तर, उपकूलपतिको कार्यालयले भने यो विषय उपकूलपतिको कार्यालयले नभई संम्बन्धित संकाया तथा डिन कार्यालयले नै समाधान गर्नुपर्ने बताएको छ । स्रोतका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान एमवीवीएसका विद्यार्थीहरु त्रिवि केन्द्रीय स्ववियुको समन्वयमा उपकूलपतिको कार्यालयमा पुगेका हुन् ।
उपकूलपति कार्यालयले विद्यार्थीहरुले वार्ताबाट विषयको समाधान निकाल्नुको सट्टा तोडफोड गरेको भन्दै आपत्ती जनाएको छ । वार्ता गरेर समस्याको समाधान निकाल्नुपर्ने र पहिलो दिनमै एकाएक आएर तोडफोड गर्नु दुःखद रहेको पनि भिसी कार्यालयका एक कर्मचारीले एडुप्रेसलाई बताए ।


