बेइजिङ । चीनको ओभरसिज चाइनिज च्यारिटी फाउन्डेसनले १२ जना नेपाली विद्यार्थीलाई राजदूतस्तरीय बेल्ट एन्ड रोड (बीआरआई) छात्रवृत्ति प्रदान गरेको छ।
गत वर्षदेखि सञ्चालनमा आएको यस कार्यक्रम अन्तर्गत यस वर्ष पनि बेइजिङस्थित नेपाली दूतावासको सहकार्यमा १२ विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको हो। चीनमा अध्ययनरत नेपाली विद्यार्थीको शैक्षिक उपलब्धि र नेपाल–चीन सांस्कृतिक सम्बन्धमा योगदानका आधारमा चयन भएको कार्यवाहक राजदूत रोशन खनालले जानकारी दिइन्।
खनालका अनुसार चीनका कृषि संस्थानमा नेपालीका लागि कृषि तालिमको कोर्स थप गर्न दूतावासले सुझाव दिएको छ। गत अक्टोबर १३ देखि २८ सम्म आवेदन मागिएको थियो। जसमा १४४ जनाले आवेदन दिएका थिए। शैक्षिक उपलब्धि, लिङ्ग, वर्ग, सीमान्त समुदाय, नैतिकता र सामाजिक उत्तरदायित्वका आधारमा विजेता छनोट गरिएको हो।
बिहीबार दूतावासमा आयोजित कार्यक्रममा फाउन्डेसनका प्रतिनिधिले छात्रवृत्तिले नेपाल–चीन जनस्तरीय सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे। उनले छात्रवृत्ति विद्यार्थीलाई शैक्षिक र अतिरिक्त गतिविधिमा प्रगति गर्न प्रेरणा दिने बताए।
मधेशका चन्दनकुमार साहले १० हजार चिनियाँ युआन पाएका छन्। अन्य ११ जनाले ५ हजार युआन प्राप्त गरे। विजेतामध्ये २ जना पीएचडी, ३ जना स्नातकोत्तर र ७ जना स्नातक विद्यार्थी छन्।
पुरस्कृत विद्यार्थीमा विभुष श्रेष्ठ, मन्दीपमणि सुरज, प्रवीण विक्रम केसी, नीरग बस्नेत, कोसिस शर्मा, अनिश तिवारी, अक्षरा रेग्मी, सिन्धु पण्डित, समता बज्राचार्य, सरिता सापकोटा र संकेत यादव छन्।


