- जगत वाशिष्ठ
पोखरा । सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको विवाद अझै पनि समाधान हुन सकेको छैन । समस्या समाधानका लागि विद्यालयका प्रधानाध्यापकले पदबाट राजिनामा दिए पनि अझै पनि विद्यालय सूचारु हुन सकेको छैन ।
छात्रामाथि बलात्कार भएको विषयमा आरोपमा पक्राउ परी अदालतबाट रिहा भएका बालकको विषयलाई लिएर विद्यालयमा लामो समयदेखि आन्दोलन भइरहेको छ । विद्यार्थीहरुले प्रधानाध्यापकसहित विद्यालयका चार जना अन्य शिक्षकलाई विद्यालयबाट सरुवा गरेर नपठाएसम्म कक्षाकोठामा नफर्किने चट्टानी अडान राख्दै आएका छन् ।
समस्या बढ्दै गएपछि विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीले पदबाट राजिनामा दिएका थिए । प्रअले राजिनामा दिए पनि विद्यार्थीहरु आफूहरु असुरक्षित रहेको भन्दै पूर्ण रुपमा विश्वस्त हुने आधार तयार नभएसम्म आन्दोलन नरोक्ने बताउँछन् ।
विद्यालयका छात्र विजय बिकलाई केही महिना अघि छात्रामाथि बलात्कार आरोपमा पक्राउ गरिएको थियो । विजय पक्राउ पर्दा विद्यालय प्रशासनले उनका अभिभावकलाई समेत जानकारी नदिएको भन्दै विद्यार्थीहरुले विरोध गरेका थिए । पछि उनीमाथि लागेका सबै आरोप प्रमाणित नभएपछि कास्की जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । विजय रिहा भए पछि विद्यार्थीहरुले आन्दोलन सुरु गरेका थिए । उनीहरुले आफूहरुलाई जतिबेला पनि अनावश्यक आरोप लगाएर षडयन्त्रपूर्वक पक्राउ गर्न सक्ने स्थिति देखिएको र असुरक्षित रहेको भन्दै आन्दोलन थालेका हुन । विद्यार्थीहरु विद्यालयका प्रअ र अन्य चार जना शिक्षकको हात रहेकोले उनीहरुलाई अन्यत्रै सरुवा गर्नुपर्ने माग राखेका छन् ।
विद्यालयका शिक्षकहरुले भने केही अभिभावकले विद्यार्थी उचालेको आरोप लगाएका छन् । तर, आरोप लागेका अभिभावकले भने त्यसलाई खण्डन गरेका छन् । उनले आफू कपिलवस्तु जिल्लामा बस्ने गरेको र कपिलवस्तुबाट पोखरा आएर विद्यार्थी उचालेको भन्ने आरोप हास्यास्पद भएको बताउँदै आएका छन् ।
यसअघि उक्त विद्यालयमा भएको घटनाको अध्ययन गर्न छानविन समिति गठन गरिएको थियो । पोखरा महानगरपालिका वडा नं. २६ का सदस्य तिर्थबहादुर राजभाटको संयोजकत्वमा छानविन समिति गठन भएपछि विद्यालयको पढाइ सुचारु भएको थियो । तर, छानविन समितिले लामो समय लगाए पनि काम गर्न नसकेको भन्दै विद्यार्थीहरुले पुनः आन्दोलन सुरु गरेका थिए । विद्यार्थीहरुले पुनः आन्दोलन थालेपछि छानविन समितिले प्रतिवेदन महानगर शिक्षा समितिलाई बुझाएको थियो । अभिभावकहरुले भने उक्त छानविन समितिको बैधतामाथि नै प्रश्न उठाएका थिए । फौजदारी अभियोगका विषयमा छानविन गर्दा वडा सदस्य नै छानविन समितिको संयोजक बस्न नमिल्ने उनीहरुको भनाई थियो । यसबाट छानविन समिति नै घटनालाई सामसुम पार्न लागेको र स्वार्थप्रेरित रहेको उनीहरुको भनाई थियो । विद्यालयमा गलत क्रियाकलाप भएका कारणले नै विद्यार्थीहरु असह्य भएर आन्दोलनमा उत्रेको अभिभावकको भनाई छ । धेरैपटक विद्यालयमा विभिन्न गलत क्रियाकलाप हुने गरेको सुनिएको तर अन्तिममा विद्यालयका बालकमाथि नै आरोप थोपर्न खोजिएको अभिभावकको भनाई छ । विद्यार्थीहरुले सरुवा गर्न माग गरेका शिक्षकहरुलाई अन्यत्र नपठाइ विद्यालयको वातावरण बन्न नसक्ने अभिभावकको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिमा रहेकी एक अविभावकले विद्यालयमा अनियमितता भएको पनि आरोप लगाएकी छन् । उनले विद्यालयको पठन पाठनमा र मुल्यांकनका विषयमा पनि प्रश्न उठेको बताउँछिन । कतिपय विषयको परीक्षामा उत्तरपुस्तिका जाँच नै नगरेर नतिजा प्रकाशन गरिएको उनको भनाई छ । कतिपय विद्यार्थीहरुलाई शिक्षकले आफूहरुको विरोध गरेमा फेल गराइदिने धम्की पनि दिने गरेको उनको भनाई छ ।


