काठमाडाैं । मेलबर्न विश्वविद्यालयले अफनागस्तानकी अदिबा इरफानलाइ यस वर्षकाे भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गरेको छ । अदिबाले प्रतिष्ठित प्रिमियर्स अवार्ड अफ द इयर प्राप्त गरेपछि उनी अहिले विश्वभर चर्चामा छन्। अफनानस्तानमा तालिवानले पढ्न नदिएर अस्ट्रेलिया पुगेकी उनकाे याे सफलताले फेरि तालिवान सरकारमाथि प्रश्न उठेकाे छ ।
अदिबा मेलबर्न विश्वविद्यालयकी विज्ञान विषयमा स्नातक गरिरहेकी छन् । उनले अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड अफ द इयरको लागि भिक्टोरियन प्रिमियर्स अवार्ड प्राप्त गरेकी हुन। यो पुरस्कार सबै मूल्याङ्कन मापदण्डहरूमा सबैभन्दा उत्कृष्ट विद्यार्थी पुरस्कार विजेतालाई दिने गरिएकाे मेलवर्न विश्वविद्यालयले जनाएकाे छ । याे पुरस्कार अन्य पुरस्कारहरूका विजेताहरूबाट छनोट गरिने पनि बताइएकाे छ। अदिबाले अंग्रेजी भाषा प्रशिक्षणमा पनि वर्षको अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड हात पारेकी छन।
त्यसैगरी मेलवर्न विश्वविद्यालयमा विज्ञान विषयकै स्नातक तहकी भारतकी एन्जेला सोजनले पनि उच्च शिक्षामा वर्षको अन्तर्राष्ट्रिय विद्यार्थी अवार्डबाट सम्मानित भएकी छन् । मेलबर्न विश्वविद्यालयका उपकुलपति प्रोफेसर एम्मा जोनस्टनले उनीहरूलाइ अवार्ड प्रदान गर्नुका साथै बधाइ ज्ञापन गरेका थिए ।
विश्वविद्यालयले भनेकाे छ, “हामी अदिबालाई वर्षको अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा मान्यता प्राप्त गरेकोमा र प्रिमियरको पुरस्कार प्राप्त गरेकोमा बधाई दिन्छौं। तपाईंका उपलब्धिहरू असाधारण छन्, र हामी तपाईंलाई हाम्रो विश्वविद्यालय समुदायमा पाउँदा सम्मानित छौं।
अदिबाले पहिले मेलबर्न विश्वविद्यालयको हथर्न-मेलबर्न अंग्रेजी भाषा ब्रिजिङ कार्यक्रममा अध्ययन गरेकी थिइन् । अहिले उनी न्यूरोसाइन्समा विज्ञान स्नातक तहको अध्ययन गरिरहेकी छिन्। अदिबाले द पिंक एजुकेशन फाउन्डेसन पनि स्थापना गरेकी छन् । जुन फाउन्डेसन अफगानी छात्रा र महिलाहरूको लागि शिक्षा र स्वास्थ्य जागरूकतालाई अगाडि बढाउन समर्पित रहेकाे छ ।
पुरस्कार प्राप्त गरेपछि अदिबाले भनेकी छन्, “यी पुरस्कारहरू शिक्षाको शक्तिमा मेरो विश्वासको मान्यता हुन्, र म २०२१ देखि माध्यमिक र तृतीयक अध्ययनबाट प्रतिबन्धित २५ लाख अफगानी छात्राहरूको तर्फबाट तिनीहरूलाई स्वीकार गर्छु । म यो जिम्मेवारी मेरो सम्पूर्ण हृदयले वहन गर्छु र नसक्नेहरूको पक्षमा उभिन्छु।”
अदिबा कमजोर आर्थिक अवस्था भएकाे परिवारकी छात्रा हुन्। तालिवानले अफगानस्तानमा अध्ययनमा प्रतिबन्ध लगाएपछि पढ्ने चाहना अधुरै रहने चिन्ताले बिदेसिएकी थिइन्।
भिक्टोरिया राज्यका विद्यार्थीहरू भरिएको मञ्चमा उभिएर अदिबा अाफू बिदेसिनुका कारण सुनाउँदै भनिन, ‘पढ्नै नपाएपछि मैले आमालाई मेरो किड्नी बेचेर भए पनि अमेरिकाको युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जाम दिन्छु भनें। आमा मान्नुभएन। बरु भन्नुभयो तिमी भर्खरकी छौै। मेरो किड्नी बेच्छु। तिम्रो जीवन धेरै लामो छ। किड्नी कसरी बेच्ने ? ’
अदिबाले पुरस्कार समारोहलाई स्तब्ध तुल्याउँदै आमा र आफूबीचको पढ्ने र पढाउने चाहनासहित योजनाको थप रहस्य खोल्दै भनिन्, ‘आमाले म तिमीलाई मेरो जीवनको मूल्य दिनेछु। पढाइका लागि संघर्ष गर्नेछु भन्नुभयो। त्यो रात हामी धेरै समयसम्म सँगै बसेर रोयौं। भाग्यले मलाई मेलबर्न ल्यायो र यहाँसम्म पुग्न सकें।’
शिक्षा प्राप्तिका लागि एउटी अफगानी छात्रा र उनकी आमाको संघर्षको यस्तो कष्टकर तथा मर्मस्पर्शी तथ्य सुन्नेबित्तिकै सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विश्वविद्यालयका प्र्रोफेसर र भिक्टोरिया राज्यका अर्थमन्त्रीसमेत जुरुक्क उठेर अदिबा, उनकी आमा एवं धेरै अफगानी महिलाप्रति सम्मानसँगै सहानुभूति व्यक्त गरे। कठोर सामाजिक र राजनीतिक बन्धनमा बाँधिएका अफगानी महिलासँगै विश्वभरका युवतीहरूका लागि उनी प्रेरणादायी उदाहरण बनेकी छिन्।

त्यसैगरी भारतकी एन्जेला कम्प्युटर विज्ञानमा विज्ञानको स्नातक तहको अध्ययन गरिरहेकी छिन्। उनी STEM मा महिलाहरूको लागि एक प्रमुख वकालतकर्ता हुन्, जसले भारत र अष्ट्रेलियाका युवा छात्राहरूलाई यस क्षेत्रमा शिक्षा र करियर बनाउन सशक्त बनाउँछिन्। भिक्टोरियन अन्तरिक्ष विज्ञान शिक्षा केन्द्रमा गर्ल पावर मेन्टर र पूर्व शिक्षिकाको रूपमा, एन्जेलाले युवा भिक्टोरियनहरूमाझ STEM मा उत्साह जगाउन काम गरेकी छन् ।
पुरस्कार प्राप्त गरेपछि एञ्जेलाले भनेकी छन्, “म यो पुरस्कारबाट सम्मानित हुन पाउँदा अविश्वसनीय रूपमा सम्मानित छु, ममा विश्वास गर्ने व्यक्तिहरू, टोलीहरू र संस्थाहरूको समर्थन बिना म यो गर्न सक्दिनथें । विज्ञानले मलाई सधैं चकित पारेको छ, र म खुशी छु कि मैले त्यो आनन्द अरूसँग बाँड्ने मौका पाएको छु। मलाई आशा छ कि यो क्षणले थप विविधता, थप सम्बन्ध र STEM मा आफ्नो लागि ठाउँ देख्न धेरै मानिसहरूलाई प्रोत्साहित गर्नेछ।”
फाइनल लिस्टमा २ नेपाली विद्यार्थी
अस्ट्रेलियाको भिक्टोरिया राज्यलाई शैक्षिक केन्द्र बनाउन अस्ट्रेलियन सरकारले विभिन्न रणनीति अपनाउँदै आएको छ। त्यसका लागि ‘स्टडी मेलबर्न’ले राज्यका सबै विश्वविद्यालय तथा शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूमध्येबाट ७ जनालाई मात्र विजेता घोषण गर्दै पुरस्कृत गरेको छ। जसमा अदिबासहित ५ जना छात्राहरू पुरस्कृत भएका हुन्।
पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेहरूमा २ जना नेपाली विद्यायर्थी पनि छन्। डिकिन विश्वविद्यालयमा स्कुल अफ आईटीमा विद्यावारिधि (पीएचडी) अध्ययनरत धिरज न्यौपाने स्टुडेन्ट अफ दि एयर (रिजनल) र दी मेलबर्न युनिर्भसिटीका अनिमेश घिमिरे फाइन लिस्टमा परेका छन्। प्रत्येक वर्ष विभिन्न मुलुकबाट सयौं विद्यार्थीहरू भिक्टोरियामा अध्ययन गर्न आउने गर्छ।


