इलाम । इलाममा ट्रकले ठक्कर दिँदा पिकनिक गएका दुई शिक्षकको मृत्यु भएको छ । इलाम नगरपालिका–९ भञ्ज्याङको रेशमखेती–माथिल्लो सडकखण्डमा भएको दुर्घटनामा परी दुई शिक्षकको मृत्यु भएको हो ।
दुुर्घटनामा परी इलामको ग्रीनभ्याली स्कूलका दुई शिक्षक इलाम–९ गोलबस्तीका २६ वर्षीय डेबिट थापा मगर र इलामकै माईजोगमाई–१ नयाँबजारका १८ वर्षीय शिक्षक छेवाङ शेर्पाको मृत्यु भएको छ ।
इलामबाट हेडट्याङ्कतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कूटरलाई झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१० नम्बरको ट्रकले ठक्कर दिँदा दुबै शिक्षकको घुटनास्थलमै मृत्यु भएको हो । दुबै जना शिक्षक एउटै स्कूटरमा चढेर पिकनिक स्थलबाट बाहिर निस्केका बेला ट्रकले ठक्कर दिएको बताइएको छ ।
प्रहरीले घटनापछि इलाम–५ का ट्रकका चालक रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । ग्रीनभ्याली स्कूलले इनपा–९ भञ्ज्याङ नजिक पिकनिक आयोजना गरेको थियो। दुबै जना शिक्षक पिकनिक स्थलमा विद्यार्थीसँगै रमाइरहेका थिए । त्यसपछि उनीहरु कतिबेला पिकनिक स्थलबाट निस्केर दुर्घटनामा परेका हुन् भन्ने थाहा हुन सकेको छैन ।


