धरान । धरानस्थित केन्द्रीय प्राविधिक क्याम्पसमा शैक्षिक र प्रशासनिक सुधारको मागसहित विद्यार्थीले सुरु गरेको धर्ना एक महिना पूरा भएको छ।
स्ववियु सभापति पेशलराज कार्कीको नेतृत्वमा विद्यार्थीहरू प्रत्येक दिन बिहान १० बजेदेखि धरान हात्तीसारस्थित क्याम्पसको मुख्य गेटमा एक घण्टा धर्ना बस्दै आएका छन्। कात्तिक १७ बाट सुरु गरिएको आन्दोलनको कारण अव्यवस्थापन, कमजोर शैक्षिक वातावरण र पारदर्शिताको कमीले विद्यार्थीको भविष्य अनिश्चित बनेको उनीहरुको आरोप छ।
सभापति कार्कीका अनुसार संकाय दर्ता, शैक्षिक गुणस्तर, आर्थिक पारदर्शिता, क्याम्पस व्यवस्थापन तथा स्वास्थ्य बीमामा कमजोरीका कारण विद्यार्थी मारमा परिरहेका छन्। यिनै कारणले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।
क्याम्पसमा वर्षौंदेखि सञ्चालनमा रहेका बीएससी माइक्रोबायोलोजी र बीएससी न्यूट्रिशन एण्ड डाइटेटिक्स संकाय नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता नहुँदा विद्यार्थीको भविष्य झन् अन्योलमा परेको विद्यार्थीहरूको गुनासो छ। २०६७ सालदेखि टियु अन्तर्गत सञ्चालनमा आएको न्यूट्रिशन एण्ड डाइटेटिक्स संकायले १५ वर्ष बितिसक्दा पनि काउन्सिल मान्यता नपाउँदा लाइसेन्स परीक्षा, सरकारी सेवा तथा पेसागत अवसर गुमेको उनीहरूको आरोप छ। दुवै संकाय तत्काल दर्ता गर्नुपर्ने उनीहरूको माग छ।
स्वास्थ्य बीमाका नाममा लिइएको ५०० रुपैयाँको शुल्कबारे कुनै सेवा नपाएको र बीमाबाट सुविधा कसरी पाइन्छ भन्ने नखुलेकाले रकम फिर्ता गर्नुपर्ने विद्यार्थीको माग छ। धेरै वर्षदेखि आवाज उठाउँदा पनि समस्या समाधान नभएपछि सडकमात्रै विकल्प भएको कार्कीले बताए। उनले माग पूरा नभए आन्दोलन कडा बनाउने चेतावनी पनि दिए।
क्याम्पस प्रमुख प्राध्यापक बसन्तकुमार राईले विद्यार्थीको माग क्याम्पसको हितमै रहेको भन्दै वार्ताका लागि बारम्बार बोलाउँदा पनि ढिलाइ भएको प्रतिक्रिया दिए। “हामीले सकिने माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेका छौँ,” उनले भने, “बेतिथि छन्, सुधारका प्रक्रिया चलिरहेका छन्, रिजल्ट केही ढिला भए पनि क्याम्पस सुधारतर्फ लागेका छौँ।”


