खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको शनिबार बसेको बैठकले स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि भत्ता व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
नगरप्रमुख विमला राईका अनुसार स्थायी, अस्थायी, करार, प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षक सबैलाई भत्ता दिइनेछ। उनको भनाइमा, भत्ता व्यवस्थाले शिक्षकको मनोबल बढाई सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।
११ वडासहितको जिल्लाको दोस्रो ठूलो नगरपालिकामा १२ माध्यमिक, १५ आधारभूत र ५९ प्राथमिक विद्यालय गरी ८६ सामुदायिक विद्यालय सञ्चालित छन्। स्थानीय भत्ताका कारण नगरको वार्षिक खर्चमा थप एक करोड ७३ लाख रुपैयाँ बढ्ने नगरपालिकाले जनाएको छ।
बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५ हजार २०० विद्यार्थी अध्ययनरत नगरपालिकामा ३०९ शिक्षक कार्यरत छन्। तीमध्ये माध्यमिक तहमा १४, निम्न माध्यमिकमा २८ र प्राथमिक तहमा १६० जना छन्।


