EduPress
'

सीटीईभीटी पुनर्संरचनाका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन, प्रतिवेदनका चाङमाथि चाङ, सीटीईभीटी धरासायी बन्दै

Author Image
सोमवार, मंसिर २२, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (CTEVT) को पुनर्संरचनाका लागि गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

एक महिना अघि काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. डा. सुरेशराज शर्माको संयोजकत्वको कार्यदल गठन गरिएको थियो । कार्यदलमा पूर्वसचिव रामहरि लामिछाने र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उषा झा सदस्यका रूपमा सहभागी थिए। कार्यदलले एक महिना लगाएर प्रतिवेदन तयार गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री महावीर पुनलाई आइतबार प्रतिवेदन बुझाएको हो ।

कार्यदलले परिषदको संस्थागत सुधार, संरचनागत पुनर्संरचना, गुणस्तर अभिवृद्धि, कार्यक्षमता वृद्धि तथा प्राविधिक शिक्षाको पहुँच विस्तारसम्बन्धी विस्तृत सुझाव प्रतिवेदनमा समेटेको बताइएको छ । त्यस्तै आंगिक र निजी कलेज प्रदेश सरकार मातहत लैजान पनि कार्यदलले सिफारिस गरेको छ। साझेदारी तथा सामुदायिक कलेज भने स्थानीय तहले सञ्चालन गर्ने व्यवस्था मिलाउनकाे सुझाव छ।

शिक्षामन्त्री पुनले प्रतिवेदन ग्रहण गर्दै सीटीईभीटीलाई समयअनुकूल, प्रविधिमैत्री र श्रमबजारमुखी बनाउने दिशामा कार्यदलका सुझाव महत्वपूर्ण रहेको बताए। प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक नीतिगत तथा संरचनागत निर्णय गर्ने बताइएको छ।

परिवर्तित सन्दर्भमा समग्र शिक्षा प्रणालीलाई रोजगारमुखी, सीपमूलक, जीवनोपयोगी, व्यावसायिक बनाउन भन्दै सीटीईभीटीको पुनर्संरचनाको कुरा उठ्दै आएको छ । धेरै पटक यस्ता कार्यदल गठन भएका छन् । तर, हालसम्म ठोस कदम अघि बढ्न सकेको छैन । पटक पटक समिति बन्ने र प्रतिवेदन थन्किने गरेका छन् । यसपटक पनि यो प्रतिवेदन त्यसैगरी कुनामा थन्किने आशंका सरोकारवालाहरुले गरेका छन् ।

२०७५ सालमै प्रा. डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्न नीतिगत तथा कानूनी संयन्त्र परिवर्तन गर्न उक्त कार्यदल गठन गरिएको थियो । त्यो कार्यदलको पनि केही काम हुन सकेन ।

त्यसपछि योजना आयोगको गीता पौडेल अधिकारीको संयोजकत्वमा २०८१ मा सात सदस्यीय कार्यदल गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिवेदन पनि त्यत्तिकै थन्किएको छ । सो कार्यदलले तीन महिना लगाएर गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पुनर्संरचनासम्बन्धी सुझावसहितको ८८ पृष्ठ लामो प्रतिवेदन २०८१ पुसमा बुझाएको थियो।

पछिल्लो समय जेनजी आन्दोलनबाट सुशिला कार्कीको नेतृत्वमा सरकार बनेपछि पनि सीटीईभीटी पुनर्संरचनाको कुरा उठेको छ । वर्तमान सरकारले सीटीईभीटीभित्रकै कर्मचारीहरुले अध्ययन गरी तयार गरेको प्रतिवेदनमाथि पनि अध्ययन गरेको जनाएको छ । त्यसले पनि नपुगेर सरकारले एक महिना अघि मात्र सीटीईभीटीका संस्थापक कार्यकारी निर्देशक समेत रहेका प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको हो ।

यसपटक मन्त्री पुनले भने याे प्रतिवेदनलाइ थन्किन नदिने बताएका छन् । उनले याे प्रतिवेदन ‘भटाभट कार्यान्वयन’मा लगिने पनि घाेषणा गरेका छन् । साथै मन्त्री पुनले कार्यान्वयन समिति पनि बनाइसकिएकाे जानकारी पनि दिएका छन् । मन्त्री पुनले भनेका छन्, “प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (CTEVT) को पुर्नसंरचना नगरि नहुने देखिएकोले प्राविधिक तालिम कायक्रमलाई समयको माग अनुसार सुधार गर्ने उदेश्यले प्रा.डा. सुरेशराज शर्मा ज्यू (पुर्व उपकुलपति)को संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । एक महिनापछि कार्यदलले प्रतिवेदन बुझाएको छ। अब प्रतिबेदन अनुसार भटाभट् पुर्नसंरचनाको काम हुनेछ। त्यसको लागि कार्यान्वयन समिति बनाईयो।”

प्रतिक्रिया