EduPress
'

त्रिवि परिसरमा आगोको धुनि जगाएर राति अवेरसम्म मदिरा व्यापार, प्रहरी र प्रशासन मिलेको आरोप

Author Image
सोमवार, मंसिर २२, २०८२
Text Size:
  • जगत वाशिष्ठ

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा अनुमति विना अवैध व्यापार मेला सुरु भएको छ । त्रिवि परिसरमा अहिले जथाभावी ठेला, स्टल र छाप्राहरु बनाएर चिया नास्ता, खानादेखि मदिराको खुल्लमखुल्ला व्यापार भइरहेको छ । यसले त्रिवि परिसर पूरै दुर्गन्धित बनेको छ । देशको पुरानो र ठूलो विश्वविद्यालयभित्र यसरी मनपरि अवैध व्यापार चलिरहँदा विश्वविद्यालय, प्रहरी, नगरपालिका र सरकार मौन बसेका छन् ।

विश्वविद्यालयका ठाउँठाउँमा खाली रहेका चौरका राति–राति आगो बालेर व्यावसायिक गतिविधि गर्न थालिएको छ । दिउसोभरि मानिसहरुको भिडभाड हुने र राति पनि आगो बालेर मदिराको व्यापार गरिने भएकोले त्यस क्षेत्रमा वातावरण पूरै प्रदूषित बनेको छ ।

यस क्षेत्रमा कीर्तिपुर विकास समाजले स्टल बनाएर भाडामा लगाएको छ । उक्त समूहले त्रिवि परिसर र तीनकुने क्षेत्रमा स्टल राख्दै आएको छ। संस्थाले आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पताल परिसर समेत कब्जा गरेर पार्किङ शुल्क उठाउनुका साथै त्रिवि परिसरभित्र ठाउँठाउँमा व्यापारिक स्टलहरु राखेर भाडा उठाउने गरेको छ । तर, यो संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता छैन । काठमाडौँ जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी तथा संघ–संस्था शाखाका अधिकृत ओम भट्टराईले कीर्तिपुर विकास समाज नामको कुनै संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएको बताए । उनले कुनै संस्था दर्ता भए पनि त्यसरी पार्किङ शुल्क उठाउन र व्यापार गर्न नपाउने बताए ।

कीर्तिपुर विकास समाजकी सहसचिव सङ्गीता श्रेष्ठ भने आफूहरुले कीर्तिपुर नगरपालिकामा दर्ता गरेको बताउँछिन । सो संस्था कीर्तिपुर नगरपालिकामा दर्ता गरिएको बताए पनि नगरपालिकामा व्यवसाय मात्र दर्ता हुने नियम छ । जिप्रकाका सूचना अधिकारी मुक्ति रिजाल कुनै पनि संस्था स्थानीय तहमा दर्ता नभई जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने बताउँछन् ।

समाजकी सहसचिव संगिता श्रेष्ठ आफूहरुले प्रारम्भमा त्रिविको चौरमै स्टल राख्न खोज्दा स्थानीय प्रहरीबाट अनुमति नपाएको र त्यो पसलहरु तीनकुनेमा सारिएको बताउँछिन । तर, तीनकुनेमा जहाँ अहिले समाजले स्टल बनाएर भाडामा लगाएको छ, त्यो क्षेत्रको जग्गाको स्वामित्वबारे भने उनी अनभिज्ञ रहेको बताउँछिन् ।

नगरपालिकासँग सहमति खोज्दा ‘तालाबन्दीको धम्की’

कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार कीर्तिपुर विकास समाजले सुरुमा एनपीएलका क्रममा आउने सवारी साधनलाई व्यवस्थापन गरी भाडा र रकम उठाउने सहमति लिन आएको थियो । तर, नगरपालिकाले त्यस्तो सहमति दिन नमिल्ने बताएपछि उनीहरूले कार्यकक्षमै तालाबन्दी गरिदिने धम्की दिएका थिए । त्यसरी धाकधम्की दिएपछि नगरपालिका मौन बसेको देखिन्छ ।

प्रहरी प्रशासनमाथि ‘मिलेमतो’को आरोप

त्रिवि चौरमा भएका अवैध व्यवसाय हटाउनुपर्ने ठाउँमा प्रहरी स्वयं पसलमा गएर चिया–खाजा खाइरहेको, व्यापारीसँगै मिलेमतो गरेको आरोप स्थानीयले लगाउने गरेका छन् । कीर्तिपुर प्रहरी वृत्तका प्रमुख हुकुमबहादुर बुढ़ाथोकी आफूहरुले अनुमति नदिएको तर मानवीय नाताले पसल नउठाएको बताउँछन् । उनी प्रहरीलाई पनि खाजा खाने ठाउँ हुने भएकोले राख्न दिएको गैरजिम्मेवार कुरा गर्छन ।

तर, कीर्तिपुर विकास समाजको जकेट लगाएका युवाहरुले दिने निर्देशन अनुसार प्रहरीले काम गरिरहेको स्थानीय बताउँछन् । कीर्तिपुर विकास समाजले परिचालन गरेका युवाहरु त्रिविको मूल गेटमा बसेका छन् । मूलगेटबाट सवारी साधनहरु भित्र छिर्न नदिएर सबै सवारी साधनलाई त्रिवि आयुर्वेद क्याम्पस र अस्पतालको परिसरतर्फ पठाउन ती युवाहरुले लागिरहेका छन् । त्यसका लागि उनीहरुले त्रिविको मूल गेटमा बसेका प्रहरीको सहयोग लिएको देखिन्छ । उनीहरु प्रहरीलाई सहयोग गरेको जस्तो गरेर आफ्नो व्यापारिक मक्सद पूरा गरिरहेका छन् । प्रहरी भने यसबारेमा कुरा गर्दा आफूहरु खेलको सुरक्षाका लागि काम गरेको बताउँछन् । तर, भित्रभित्रै प्रहरी पनि कीर्तिपुर विकास समाज नामको संस्थासँग मिलेर पार्किङ शुल्क उठाउन सहयोग गरिरहेको स्थानीयको आरोप छ । सो समाजका मान्छेहरुले त्रिवि आयुर्वेद क्याम्पस र अस्पताल परिसरमा हजारौ सवारी साधनबाट दैनिक लाखौ रकम उठाइरहेका छन् । उनीहरुले एउटा बाइक पार्क गरेमा एक सय रुपैया र एक गाडीको एक सय पचास रुपैयाँ उठाइरहेका छन् । प्रहरीले पनि समाजको यो अवैध धन्दालाई सहयोग पुग्ने गरी हरियो जकेट लगाएका युवाहरुको निर्देशन अनुसार एनपीएल चलिरहेको क्षेत्रको टाढाटाढासम्म कतै पनि सवारी साधनहरु पार्किङ गर्न नदिएर साझै आयुर्वेद क्याम्पसतिर जान भनिरहेको देखिन्छ ।

प्रहरी त्रिभुवन विश्वविदालयको गेटमा बसेको प्रहरीले कीर्तिपुर विकास समाजको काम गरिरहेको छ कि के गरिरहेको छ भन्ने प्रश्न उठेको छ । गेटमा बसिरहेका सुरक्षाकर्मीलाई यो प्रश्न गर्दा उनीहरु अलमलिने गरेका छन् । आखिर प्रहरीको काम त्रिविको मूलगेटबाट सवारी साधन पस्न नदिएर आयुर्वेद क्याम्पसतिर पठाउने वाहेक अरु काम भएको देखिदैन । त्यसले प्रहरीको भूमिकामाथि आशंका उत्पन्न भएको छ । यतिसम्म कि प्रहरीले विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी, विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई समेत मूलगेटबाट छिर्न दिएका छैनन । एक प्राध्यापक भन्छन्, विश्वविद्यालयले आफ्नो मूल गेट नै प्रयोग गर्न नपाउने गरी क्रिकेट प्रतियोगिता सञ्चालन किन गर्नुपर्यो । यो मैदान तत्काल नहटाएसम्म विश्वविद्यालय अब क्रमशः धरासायी बन्दै जान्छ । देशको विश्वविद्यालय धरासायी बनाएर कसैले खेल मैदान बनाउँछन् भने यो देशको ठूलो बर्बादी वाहेक केही हुन्न ।

यता जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अहिलेको सुरक्षा व्यवस्था खेलका कारण मात्र भएको बताउँछन् । उनी कीर्तिपुर विकास समाजको कामबारे जिल्ला प्रशासनले हेर्ने बताउँछन् ।

छात्रावास र शिक्षण अस्पताल प्रभावित

त्रिवि परिसरमा दैनिक मदिरा सेवन, राति अबेरसम्म बज्ने ठूलो आवाज र भीडको कारण महिला छात्रावास, आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल अत्यधिक प्रभावित भएका छन्। रातिसम्म होहल्ला, पार्किङको भीड, झगडा र मदिराले त्रिवि परिसर “मदिरालयजस्तै” बनेको छात्रावासमा बस्ने छात्राहरु बताउँछन् ।

एक महिला छात्राले भनिन्– “यहाँ बसेर पढ्नै नसकिने स्थिति छ । राति बाहिर निस्कन सकिँदैन। बाहिर मदिरा खाने भीडले त झन् डर बढाएको छ। पार्किङको होहल्ला उत्तिकै छ । हामीले धेरै कुरा गर्दा पनि कसैले सुनेको छैन ।”

त्रिवि विद्यार्थी कल्याण प्रमुख डा. दीपेन्द्र पराजुलीका एनपीएलका कारण त्रिविको पठनपाठन प्रभावित भएको र एकेडेमिक संस्थामा प्रश्न उठेको बताउँछन् । साथै उनले खेल अवधिभर विद्यार्थी छुट र पास वितरणमा ठूलो अनियमितता भएको बताउँछन् । एनपीएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि ५० प्रतिशत छुट दिने सहमति गरेको थियो । त्यो कार्यान्वयन भएको छैन । त्यस्तै अन्य सहमति पनि कार्यान्वयन भएको छैन । विश्वविद्यालयको खरबौं मूल्यको संरचना क्षतिग्रस्त भइरहे पनि ट्राफिक र सुरक्षामा कडाइ छैन ।

दाउरा चोरी, जंगलको क्षति, विश्वविद्यालय प्रशासन मौन

त्रिभुवन विश्वविद्यालय क्षेत्रमा रहेको जंगल अहिले भित्रभित्रै सखाप भएको छ । त्यस क्षेत्रमा रहेका व्यापारीहरु धमाधम त्रिवि जंगलबाट काठ काटेर ल्याउने गरेका छन् । ती काठ काटेर राति आगो बालेर प्रदुषण बढाउँदा पनि विश्वविद्यालयका पदाधिकारी त्यसलाई नियन्त्रण गर्न लागेका छैनन ।

त्रिविका उपकूलपति प्रा.डा. दिपक अर्यालले एडुप्रेससँग त्रिवि परिसरभित्र भइरहेको व्यापार, आयुर्वेद क्याम्पस र अस्पताल परिसरमा डोजर लगाइएको विषय, जवरजस्त परिसर कब्जा गरी पार्किङ शुल्क उठाइएको विषय र त्रिविको वन फडानीको विषयमा कुरा आएको र त्यसको अवलोकन गरेर कदम चाल्ने बताएका थिए । तर, अहिलेसम्म त्रिविबाट कुनै कदम चालिएको देखिदैन ।

 

याे पनि पढ्नुहाेस

त्रिवि परिसर कब्जा गरी गैरकानुनी धन्दा, त्रिवि पदाधिकारी डरले थुरथुर, प्रधानमन्त्री र शिक्षामन्त्रीलाई गुहार

 

प्रतिक्रिया