- जगत वाशिष्ठ
काठमाडौँ । काठमाडौं उपत्यकाभरका माध्यमिक विद्यालयलाई समेटेर स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रभात माध्यमिक विद्यालय, नःघले आफ्नो हीरक जयन्तिको पूर्वसन्ध्यामा बुधबार यो प्रतियोगिता सम्पन्न गरेको हो ।
ब्रह्मानन्द–चन्द्रमाया वैद्य स्मृति कोषको सहकार्यमा आयोजित प्रतियोगितामा वरिष्ठ कविहरु र प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १४ जना बालकविहरूले आफ्ना रचना वाचन गरेका थिए। प्रतियोगिताको निर्णायकका रुपमा कवि डा. छायादत्त न्यौपाने, शान्ति सापकोटा र त्रिभुवनचन्द्र वाग्ले रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कला–सङ्गीत अन्वेषक तथा साहित्यकार प्रकाश सायमीले बालबालिकामै भविष्यमका सशक्त स्रष्टा लुकेका हुने भन्दै यस्ता कार्यक्रमले प्रतिभा पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
स्मृति प्रतिष्ठानका अध्यक्ष रमेशानन्द वैद्यले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका उद्देश्यले ब्रह्मानन्द–चन्द्रमाया वैद्यको स्मृतिमा कोष स्थापना गरी कविता प्रतियोगिता लगायतका विविध सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
साहित्यकार डा. गीता त्रिपाठीले बालबालिकालाई सिर्जनशील अभ्यासमा प्रवृत्त गराउन अतिरिक्त क्रियाकलाप अपरिहार्य भएको उल्लेख गरिन्। निर्णायक मण्डलका सदस्य डा. छायादत्त न्यौपानेले सहभागी बाल–सर्जकमा सृजनात्मकताको प्रशस्त सम्भावना रहेको बताए। त्यस्तै अर्का सदस्य कवि शान्ति सापकोटाले विद्यालय र परिवारले सिर्जनात्मक लेखनका लागि अनुकूल वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गरे।
मधुपर्कका निवर्तमान सम्पादकसमेत रहेका निर्णायक सदस्य त्रिभुवनचन्द्र वाग्लेले विद्यार्थीको प्रतिभा विकासका लागि स्मृति कोषमार्फत संचालित यस्ता रचनात्मक गतिविधि प्रशंसनीय रहेको बताए।
प्रतियोगितामा सरस्वती निकेतन माविका विपेन्द्र तोलाङ्गी प्रथम, पञ्चकन्या माविकी सन्ध्या थापा द्वितीय र शान्ति विद्यागृहकी प्रेमकला परियार तृतीय घोषित भए। त्यस्तै नेपाल युवक माविकी कुशुम हुमागाईं र जुद्वोदय माविकी स्वस्तिका लामाले सान्त्वना पुरस्कार प्राप्त गरे।


