काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले आफ्नै विभागबाट विद्यावारिधी (पीएचडी) उपाधि हासिल गर्ने पहिलो व्यक्ति डा. हरिप्रकाश चन्दसहित शोधार्थी बिनोद खण्ड तिम्सेनालाई सम्मान गरेको छ।
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै रेक्टर केसीले विद्यार्थीहरूले निरन्तर मेहनत र लगनशीलताका साथ हासिल गरेको उपलब्धिप्रति गर्व व्यक्त गरे। आफू संस्थापक प्रमुख रहँदा विभागमा विद्यावारिधी अध्ययन-अध्यापन सुरु गरिएको स्मरण गर्दै उनले पाँच वर्षमै विभागले पीएचडी तहको दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताए । साथै, यस विभागका विद्यार्थीहरूले सार्वजनिक सेवासहित विभिन्न क्षेत्रमा निरन्तर सफलता हासिल गरिरहेको उनले उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सोही विभागका विद्यावारिधी शोधार्थी तथा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले प्रा.डा. केसीकै मार्गदर्शन र सल्लाहमा आफूले विद्यावारिधी अध्ययन सुरु गरेको बताए ।
सम्मानित डा. हरिप्रकाश चन्दले इन्जिनियरिङ पृष्ठभूमिबाट आएर कठोर त्याग, तपस्या र मेहनतका साथ प्रा.डा. केसीको प्राज्ञिक मार्गदर्शन, प्रेरणा र सहयोगले विद्यावारिधी पूरा गर्न सफल भएको अनुभव सुनाए । अर्का सम्मानित शोधार्थी बिनोद खण्ड तिम्सेनाले पनि गुरुको निरन्तर मार्गदर्शनमा पीएचडी सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे ।


