EduPress
'

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘हिमालयन रिसर्च इन्ष्टिच्युट’ स्थापना

Author Image
आइतवार, मंसिर २८, २०८२
Text Size:

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘हिमालयन रिसर्च इन्ष्टिच्युट’ स्थापना गरिएको छ। चीनको नानकाई विश्वविद्यालय तथा मकाउ इन्टरनेशनल थिंकट्यांकको सहकार्यमा उक्त इन्ष्टिच्युट स्थापना गरिएको हो।

इन्ष्टिच्युट स्थापना सम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा २०८२ मंसिर २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिंकट्यांकका अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गरेका छन्।

इन्ष्टिच्युटमार्फत नेपाल–चीन सम्बन्ध, बौद्ध दर्शन, कला तथा संस्कृतिसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गरिनेछ। सम्झौता समारोहमा उपकुलपति बज्राचार्यले हिमाली बौद्ध परम्परा र पुरातत्त्वसम्बन्धी गहन अध्ययन–अनुसन्धान आवश्यक रहेकाले विश्वविद्यालयले विशेष इन्ष्टिच्युट स्थापना गरेको बताए।

नानकाई विश्वविद्यालयको स्कुल अफ फिलोसोफीका प्राध्यापक चाओ वनले हिमालय क्षेत्रमा विकसित बौद्ध संस्कृति, कला र साहित्यको अनुसन्धानले दुवै देशबीचको सम्बन्ध अझ सुदृढ हुने उल्लेख गरे। उनले इन्ष्टिच्युटमार्फत संयुक्त अध्ययन, अनुसन्धान तथा प्रकाशन गरिने जानकारी दिए।

मकाउ इन्टरनेशनल थिंकट्यांकका अध्यक्ष प्राध्यापक स्वी हाओले विश्वविद्यालयसँग सहकार्य गर्दै अनुसन्धान गतिविधि अघि बढाउन पाएकोमा खुसी व्यक्त गरे। उनले हिमालयन क्षेत्रको अध्ययन–अनुसन्धानले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउनुका साथै अध्येताहरूको ज्ञानवर्धनमा योगदान पुग्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गीतु गिरीले हिमालय बौद्ध संस्कृतिको संरक्षण र अध्ययनका लागि इन्ष्टिच्युट स्थापना महत्वपूर्ण उपलब्धि भएको बताए। ऐतिहासिक गुम्बा र सांस्कृतिक सम्पदाको अध्ययन आवश्यक रहेको औँल्याउँदै उनले आगामी दिनमा संयुक्त अनुसन्धान तथा प्रकाशनलाई प्राथमिकता दिइने जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खबर