EduPress
'

त्रिविको दीक्षान्त समारोह दशरथ रंगशालामा, एकै दिन १६ हजार दीक्षित हुँदै

Author Image
सोमवार, मंसिर २९, २०८२
Text Size:

काठमाडौँ । देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोह फेरि पनि एकै दिन, एउटै स्थानमा गर्ने निर्णय गरेको छ । त्रिविले पुस १० गते काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीक्षान्त समाराेह गर्ने निर्णय गरेकाे हाे । उक्त दिन १६ हजार ३ सय ३८ जना विद्यार्थी एकै पटक दीक्षित हुने त्रिवि प्रशासनले जनाएकाे छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार आवेदन दिएर तोकिएको शुल्क बुझाएका विद्यार्थीलाई मात्रै समारोहमा सहभागी गराइनेछ । परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार दीक्षान्त समाराेहकाे औपचारिक तयारी तीव्र पारिएको छ । यसपटक त्रिविकाे दीक्षान्त समारोहमा नोबेल पुरस्कार बिजेता जापानी नागरिक प्रमुख अतिथि हुने बताइएकाे छ ।

परीक्षा नियन्त्रक कार्यालयका अनुसार २०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्म उपाधि हासिल गरेका ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने पात्रोमा परेका छन् । तर, तीमध्ये १८ दशमलव ३१ प्रतिशत विद्यार्थीले मात्र दीक्षान्त समारोहमा सहभागी हुने इच्छा जनाएका छन् ।

समारोहमा सहभागी हुने विद्यार्थीका लागि पुस १ गतेदेखि गाउन, स्कार्फ र टोपी वितरण सुरु गरिनेछ । सूचना अधिकारी कविराज पौडेलका अनुसार यी सामग्री पुस ८ गतेसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयबाट वितरण हुनेछ । धरौटी रकम लिएर पोसाक उपलब्ध गराउने व्यवस्था यसपटक पनि निरन्तर रहने त्रिवले जनाएकाे छ ।

दशरथ रंगशालाबाट पोसाक वितरण नगरिने भएकाले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खुला राखेर सामग्री वितरण गरिने जनाइएको छ । अनलाइन आवेदन दिएका विद्यार्थीलाई समयमै कार्यालय पुगेर पोसाक लिन त्रिविले आग्रह गरेको छ ।

यसअघि एकै पटक हजारौँ विद्यार्थीलाई काठमाडौंको मुख्य क्षेत्रमा भेला गराउँदा सवारी आवागमन र सहर व्यवस्थापन प्रभावित भएको भन्दै त्रिविको आलोचना हुँदै आएको थियो । यही आलोचनापछि सङ्कायअनुसार फरक-फरक स्थान र समयमा दीक्षान्त समारोह गर्ने विषय कार्यकारी परिषद्मा छलफलसमेत भएको थियो ।

उपकुलपति प्रा.डा. दीपक अर्याल नियुक्त भएपछि त्रिविले परम्परागत शैलीमै फर्किँदै सबै सङ्कायका दीक्षान्त विद्यार्थीलाई एउटै दिन, एउटै स्थानमा दीक्षित गर्ने निष्कर्ष निकालेको हो । हाल त्रिविमा चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी नौ सङ्कायअन्तर्गत स्नातकदेखि पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया