भक्तपुर । नेपाली मौलिक चाडपर्वप्रति नयाँ पुस्ताको सोच र अभिव्यक्तिलाई उजागर गर्दै भक्तपुरमा आयोजित उपत्यकाव्यापी आमन्त्रित वक्तृत्वकला प्रतियोगितामा माउण्ट भ्यू स्कुल, बालकोटकी सोहिना बुढाथोकी प्रथम भएकी छन्।
एभरेस्ट इङ्लिस स्कुल, मिवाछें व्यासी भक्तपुरको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा बागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहकी भूमिका बस्नेत दोस्रो भइन् भने जेन्युइन माध्यमिक विद्यालय, देकोचाकी दीया श्रेष्ठले तेस्रो स्थान हासिल गरिन्।
‘नेपाली मौलिक चाडपर्वः गर्नुपर्छ गर्व’ विषयमा केन्द्रित प्रतियोगितामा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका विभिन्न विद्यालयबाट ३८ जना विद्यार्थी सहभागी थिए। सहभागीहरूले मौलिक संस्कृतिको संरक्षण, पुस्तान्तरण र पहिचानका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगिताका विजयी विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख इन्जिनियर रजनी जोशीले मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिन्। कार्यक्रममा निर्णायकको भूमिकामा जीवनाथ अधिकारी, महेन्द्रगोपाल कर्माचार्य र चन्द्रप्रसाद ढकाल रहेका थिए।


