EduPress
'

महिला राइडरहरूले गरे रूबीभ्यालीका बालबालिकालाई न्यानो कपडा वितरण

Author Image
शुक्रवार, पौष ३, २०८२
Text Size:

धादिङ । साहसिक यात्रा मात्र होइन, सामाजिक उत्तरदायित्व र दिगो पर्यटनको सन्देश बोकेर धादिङ आइपुगेका महिला राइडरहरूले रुबीभ्यालीका बालबालिकाको अनुहारमा मुस्कान थपेका छन् । दुर्गम क्षेत्रका विद्यार्थीको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यसहित रुबीभ्याली गाउँपालिका–४ स्थित डुवाङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

देशभरका महिला राइडरहरूको संस्था ‘दुई पाङ्ग्रे क्विन्स’ले धादिङमा ‘ह्विल अफ वार्म्थ स् राइड फर चिल्ड्रेन एण्ड कम्युनिटी’ नामक अभियान सञ्चालन गर्दै सामाजिक सेवा र पर्यटन प्रवर्द्धनलाई एउटै सूत्रमा जोडेको छ । अभियानअन्तर्गत धादिङ पुगेको टोलीले दुर्गम बस्तीका बालबालिकालाई चिसो मौसममा आवश्यक न्यानो कपडासहित शैक्षिक सामग्री सहयोग गरेको दुई पाङ्ग्रे क्विन्सकी संस्थापक तुलसा पहाडीले जानकारी दिइन् ।

धादिङको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले यो यात्रा तय गरिएको दुई पाङ्ग्रे क्विन्सकी प्रमोटर तथा मोटो भ्लगर सुस्मिता अधिकारीले बताइन् । ‘सन् २०२३ देखि निरन्तर सक्रिय यस संस्थाले काठमाडौंसँगै जोडिएको र अपार सम्भावना बोकेको धादिङलाई देशभर चिनाउने प्रयास गरिरहेको छ,’ उनले भनिन्, ‘रुबीभ्यालीको पाङसाङ नाम सुन्नासाथ मानिसहरू आकर्षित हुन्छन् । धादिङ साँच्चिकै स्वर्ग हो, एकपटक अवश्य घुम्न आउनुहोला।’

कार्यक्रमलाई सम्बोधन गर्दै रुबीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले सामाजिक सेवासँगै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै महिला राइडरहरूको टोलीलाई धन्यवाद व्यक्त गरे । उनले यस्ता अभियानले दुर्गम क्षेत्रको पहिचान र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

राइडका क्रममा महिला राइडरहरू धादिङको सर्वोच्च मोटरेबल पास ‘पाङसाङ पास’सम्म पुगेका थिए । अग्रपङ्क्तिमा रहेर महिला राइडरहरू पाङसाङ पाससम्म पुग्नुले धादिङको साहसिक पर्यटन र सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया