EduPress
'

शिक्षा सुधारका लागि अनुसन्धानमै केन्द्रित हुनुपर्नेमा अन्तर्राष्ट्रिय सम्मेलनको जोड

Author Image
शनिवार, पौष ४, २०८२
Text Size:

इटहरी । नेपालको उच्च शिक्षा प्रणालीलाई समयसापेक्ष र प्रभावकारी बनाउन अब नयाँ ढङ्गका अध्ययन–अनुसन्धान अनिवार्य भएको निष्कर्ष इटहरीमा सुरु भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले निकालेको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र दीगो विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको दुईदिने सम्मेलन शनिबार सुरु भएको हो ।

जनता बहुमुखी क्याम्पसलाई पूर्व नेपालको शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजित सम्मेलनको उद्घाटन सत्रमा वक्ताहरूले शिक्षा सुधारको मूल आधार अनुसन्धान नै भएको स्पष्ट पारे । उनीहरूले पाठ्यक्रम, शिक्षण विधि र नीतिगत संरचनामा परिवर्तन ल्याउन प्रमाणमा आधारित अध्ययन आवश्यक रहेको बताए ।

सम्मेलनको पहिलो दिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसे, त्रिवि सिइएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की तथा अमेरिकी दूतावास, काठमाडौंअन्तर्गत क्षेत्रीय अंग्रेजी भाषा कार्यालयका रोजर एफ. कोहेनले कि–नोट प्रस्तुति दिए । सम्मेलनमा चारवटा कि–नोट स्पिच रहनेछन् । दोस्रो दिन अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा. प्रेम फ्याकले मुख्य प्रस्तुति गर्ने कार्यक्रम छ ।

थाइल्याण्डको माइडोल विश्वविद्यालयका डेविड डी. पेरोडिन, भारत उडिसाका शैक्षिक सचिव प्रा.डा. रमेशचन्द्र राठी, बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डा. फोनिक्स केन्नी श्रेष्ठलगायत नेपाल तथा विदेशका ख्यातिप्राप्त शिक्षाविद्हरूले प्लेनरी सत्रमा धारणा राख्नेछन् । सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए ।

उद्घाटन समारोहमा बोल्दै पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले समाज रूपान्तरणका लागि शिक्षा अनुसन्धानले देखाएको बाटोमा राज्य अघि बढ्नुपर्ने बताए । उनले समयसँग मेल खाने शिक्षा प्रणाली निर्माण नगरेसम्म समग्र परिवर्तन सम्भव नहुने धारणा राखे ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक नेतृत्वप्रति बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा शिक्षाको सुधार अनुसन्धानबाटै सुरु हुनुपर्ने बताए । “आज नेताप्रति मात्र आलोचना गर्ने प्रवृत्ति बढेको छ,” उनले भने, “यस्ता सम्मेलनले विषयवस्तुलाई समयअनुकूल परिमार्जन गर्दै सकारात्मक सोचको विकास गर्न मद्दत गर्छन् ।”

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सम्मेलनले सहरको शैक्षिक पहिचान मजबुत बनाएको उल्लेख गरे । उनले समाजलाई सकारात्मक दिशातर्फ लैजान शिक्षामा गहिरो अध्ययन–अनुसन्धान अपरिहार्य भएको बताए ।

नेपालकै ठूला सामुदायिक कलेजमध्ये एक मानिने जनता बहुमुखी क्याम्पस कोशी प्रदेशको केन्द्रमा रहेकाले विद्यार्थीको रोजाइमा परेको क्याम्पसका रूपमा परिचित छ । सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुर्‍याएको र निजी तथा अन्य कलेजका लागि मार्गदर्शक भूमिका निर्वाह गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए ।

मानविकी, शिक्षा, व्यवस्थापन र भाषाशिक्षणलगायत विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता र सरोकारवालाबीच अन्तरविषयक संवाद र सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा चार देशका विदेशी वक्ता तथा नेपालका अग्रणी शिक्षाविद्हरूको सहभागिता रहेको छ भने सहभागीमध्ये ठूलो हिस्सा कोशी प्रदेशकै रहेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया