EduPress
'

त्रिविको ५१औँ दीक्षान्तमा सहभागी हुन १५,४९४ विद्यार्थीले लिए गाउन

Author Image
मङ्गलवार, पौष ७, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औँ दीक्षान्त समारोहमा औपचारिक रूपमा सहभागी हुन १५ हजार ४९४ विद्यार्थीले गाउन लिएका छन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार दीक्षान्तका लागि योग्य ८९ हजार १९१ विद्यार्थीमध्ये भौतिक रूपमा सहभागी हुन १६ हजार ३८० जनाले आवेदन दिएका थिए। तर तीमध्ये ८८६ विद्यार्थी गाउन लिन नआएपछि अन्ततः १५ हजार ४९४ जना मात्रै आधिकारिक सहभागी हुने भएका हुन्।

त्रिविको नियमअनुसार एक शैक्षिक सत्रभित्र ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षित हुन योग्य मानिन्छन्। दीक्षान्त समारोहमा सहभागी नहुने विद्यार्थीले भने समारोह सम्पन्न भएपछि परीक्षा नियन्त्रण कार्यालयबाट नियमानुसार राजस्व तिरेर मूल प्रमाणपत्र लिन सक्ने व्यवस्था छ।

दीक्षान्तमा सहभागी विद्यार्थीलाई गाउन, टोपी र स्कार्प वितरण गर्न १ हजार ५ सय रुपैयाँ धरौटी लिने गरिएको छ। गाउन फिर्ता गरेपछि ३ सय रुपैयाँ ह्रास कट्टी गरी १ हजार २ सय रुपैयाँ सम्बन्धित विद्यार्थीको खातामा फिर्ता गरिन्छ। अघिल्ला वर्षहरूमा धरौटी रकम समयमा फिर्ता नआएको गुनासो आए पनि यसपटक समयमै खातामा रकम पठाइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

विद्यार्थीले निवेदन दिन नआउँदा धरौटी फिर्ता नपाउने समस्या देखिएकाले अब सम्बन्धित विद्यार्थीले फारममा उल्लेख गरेको बैंक खातामै रकम पठाउने व्यवस्था गरिने तयारी गरिएको जनाइएको छ। यसले दुर्गम तथा टाढा जिल्लाका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

त्रिविका अनुसार उत्तीर्ण विद्यार्थीको संख्याको तुलनामा दीक्षान्तमा प्रत्यक्ष सहभागी हुनेको संख्या कम हुनुको कारण दीक्षान्त समयमा विदेशमा हुनु, दूरीका कारण उपस्थित हुन नसक्नु तथा दीक्षान्तलाई केवल गाउन लगाएर फोटो खिच्ने कार्यक्रममा सीमित गरिएको भन्ने धारणा पनि रहेको छ।

विद्यार्थीहरूले दीक्षान्त समारोहमा सबैले प्रमुख अतिथिबाट प्रमाणपत्र पाउने व्यवस्था भए आकर्षण बढ्ने सुझाव दिएका छन्। सोही उद्देश्यले आगामी वर्षदेखि पोखरामा समेत दीक्षान्त आयोजना गर्ने तयारी त्रिविले गरेको छ। यो प्रयोग सफल भएमा क्षेत्रीय स्तरमै दीक्षान्त समारोह आयोजना गर्ने योजना रहेको जनाइएको छ।

यस वर्षको दीक्षान्त समारोहमा सन् २०१८ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता तथा जापानको टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रतिक्रिया