EduPress
'

ल क्याम्पसमा हाजिरी नपुगेर एलएलएमका १६ विद्यार्थी दीक्षान्त परीक्षाबाट वञ्चित

Author Image
मङ्गलवार, पौष ७, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । नेपाल ल क्याम्पसले कानुन विषयको स्नातकोत्तर (एलएलएम) तह बिहानी सत्रका विद्यार्थीहरूको हाजिरी नपुगेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ।

यही पुस ६ गते जारी सूचनाअनुसार एलएलएम छैटौँ सेमेस्टर (२०७७/०७८ ब्याच) का ३१ जना विद्यार्थीको ७० प्रतिशतभन्दा कम हाजिरी रहेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणाली २०७४ को नियम ४ (च) अनुसार हाजिरी नपुगेका विद्यार्थी परीक्षा दिन अयोग्य हुने व्यवस्था छ।

विभागीय प्रमुख लक्ष्मीनारायण ढुँगेलद्वारा हस्ताक्षरित सूचनामा १६ जना विद्यार्थीकाे हाजिरी नपुगेको उल्लेख छ। क्याम्पसले ती विद्यार्थीकाे राेलनम्बर समेत सार्वजनिक गरेकोे छ ।

सूचनाअनुसार विभिन्न विषयमा हाजिरी नपुगेका विद्यार्थीहरुमा संवैधानिक कानुनका १, ३, १८, १९, २२, २३, २६, २७, २९ र ३४ रोल नम्बर भएका विद्यार्थी छन् । त्यस्तै वाणिज्य कानुनका १, १७, १८, २०, २१, ३० र ३३ राेलनम्बर भएका विद्यार्थी छन् । त्यसैगरी अन्तर्राष्ट्रिय कानुनका ३, ७, १७ र २१ राेलनम्बर भएका र अपराधशास्त्रका १, ७, १९, २२, २३, २६, २७, २९, ३० र ३३ राेलनम्बर भएका विद्यार्थी छन् ।

चार विषयमध्ये १३ जना विद्यार्थीको दुई वा दुईभन्दा बढी विषयमा हाजिरी नपुगेको देखिएको छ भने ५ जना विद्यार्थीको एक विषयमा मात्रै हाजिरी नपुगेको जनाइएको छ। यसरी जम्मा १६ जना विद्यार्थी हाजिरीको मापदण्ड पूरा गर्न असफल भएका छन्।

हाजिरी नपुगेपछि के हुन्छ?

सेमेस्टर प्रणालीअनुसार एलएलएम तहको परीक्षा सम्बन्धित डीन कार्यालयले सञ्चालन गर्छ। हाजिरी नपुगेका विद्यार्थी परीक्षा फारम भर्न र परीक्षा दिन अयोग्य हुने स्पष्ट व्यवस्था छ।

तर, पछिल्लो समय केही क्याम्पसमा हाजिरी मिलाइदिने प्रवृत्ति बढ्दै गएको भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन्। सहपाठी वा केही शिक्षकमार्फत हाजिरी मिलाइने घटनाहरू बाहिर आइरहेका छन्।

नाम नबताउने सर्तमा एक प्राध्यापकले भने, “हाजिरी पुर्‍याउन नसक्ने विद्यार्थीलाई सुरुमा भर्ना नै नगर्नुपर्ने हो। तर, विद्यार्थीको बाध्यता र क्याम्पसको दबाबका कारण कतिपय अवस्थामा घरमै काम दिएर मूल्याङ्कन गर्ने अभ्यास पनि देखिन्छ।”

त्रिविमा सेमेस्टर प्रणाली लागू भएपछि स्नातकोत्तर तहमा विद्यार्थी संख्या उल्लेख्य रूपमा घटेको छ। यही कारण कतिपय संकाय र क्याम्पसले अनलाइन र अफलाइन दुवै मोडमा कक्षा सञ्चालन गरिरहेका छन्।

त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागले समेत विभिन्न सेमेस्टरका लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट भर्ना प्रक्रिया खुला गरेको छ। यद्यपि, अनलाइन अध्यापन र हाजिरी सम्बन्धी स्पष्ट परिपत्र डीन कार्यालयबाट नआएको क्याम्पसहरूको गुनासो छ।

महेन्द्ररत्न क्याम्पस, ताहाचलका सहायक क्याम्पस प्रमुख डा. वासुदेव गौतमका अनुसार त्यहाँ हाजिरी नपुगेर परीक्षा दिन नपाएको घटना अहिलेसम्म भएको छैन। असाइनमेन्ट नबुझाउने विद्यार्थी भने आंशिकमा सीमित हुने गरेको उनले बताए।

यस्तै, रत्न राज्य क्याम्पसले हाजिरी नपुगेका विद्यार्थीलाई परीक्षा दिन नदिने स्पष्ट नीति अपनाएको जनाएको छ। “पहिल्यै भर्ना नलिने नीति छ,” क्याम्पस प्रमुखको भनाइ छ।

त्रिचन्द्र क्याम्पसमा भने समाजशास्त्र संकायमा अर्काको हाजिरी लगाइदिने गुनासो अहिले पनि रहेको भन्दै स्रोतले जानकारी दिएको छ।

सेमेस्टर प्रणाली प्रभावकारी बनाउन हाजिरीको कडाइ अपरिहार्य भए पनि अनलाइन–अफलाइन मोड, विद्यार्थीको बाध्यता र क्याम्पसको व्यवस्थापनबीच स्पष्ट नीति आवश्यक देखिएको छ। नेपाल ल क्याम्पसको पछिल्लो सूचना सेमेस्टर प्रणालीको कार्यान्वयनमा देखिएका चुनौती र विवादलाई पुनः सतहमा ल्याएको छ।

प्रतिक्रिया