मुगु। मुगु जिल्लाको सोरु गाउँपालिका–तारापानीस्थित बाल जनज्योति माध्यमिक विद्यालयमा पठनपाठन निकै कष्टकर अवस्थामा सञ्चालन भइरहेको छ। विद्यालयको भौतिक संरचना अत्यन्तै जिर्ण भएपछि विद्यार्थीहरू टिनले छाएका अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य भएका छन्।
विद्यालयमा हाल कक्षा १ देखि ९ सम्म पढाइ हुँदै आएको छ। करिब ३५० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा स्थायी भवन निर्माणाधीन भए पनि काम सुस्त गतिमा अघि बढिरहेको छ। निर्माण सम्पन्न नहुँदासम्म विद्यार्थीहरूले असहज वातावरणमै पढ्नुपरेको छ।
टिनका टहरामा गर्मी मौसममा अत्यधिक तापक्रम बढ्ने, जाडो याममा चिसो हावा सहजै छिर्ने तथा वर्षायाममा पानी चुहिने समस्या रहेको विद्यार्थी र शिक्षकहरूको गुनासो छ। यस्तो अवस्थाले पठनपाठनमा प्रत्यक्ष असर परिरहेको उनीहरूको भनाइ छ।
शिक्षक तथा अभिभावकहरूले विद्यालय भवन निर्माण कार्यलाई तीव्रता दिन र विद्यार्थीलाई सुरक्षित तथा अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


