EduPress
'

वाल्मीकि विद्यापीठमा पुस्तक विमोचन तथा दीर्घसेवा पदक वितरण

Author Image
मङ्गलवार, पौष १४, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । वाल्मीकि विद्यापीठमा पुस्तक विमोचन तथा दीर्घसेवा पदक वितरण कार्यक्रम सम्पन्न भएको छ। पुस १४ गते २०८२ मा विद्यापीठको सभाकक्षमा आयोजित कार्यक्रममा संस्कृत वाङ्मयका दुई महत्त्वपूर्ण ग्रन्थ सार्वजनिक गर्नुका साथै दीर्घकालीन सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल र नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. भागवत शर्मा रहेका थिए। कार्यक्रममा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशी, कुलसचिव प्रा. माधव अधिकारी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल, प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, पूर्व उपकुलपतिहरू, पूर्व पदाधिकारीहरू तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा ‘व्युत्पत्तिवादः (प्रथमाकारक मात्रम्)’ (व्याख्याकार प्रा. विद्यानाथ उपाध्याय भट्ट र प्रा.डा. पद्मप्रसाद भट्टराई) तथा ‘तन्त्रचिन्तामणि’ (प्रधान सम्पादक प्रा. विद्यानाथ उपाध्याय भट्ट) नामक दुई ग्रन्थ प्रमुख अतिथि प्रा.डा. देवराज अधिकारीबाट विमोचन गरियो। विमोचित पुस्तकका प्रधान सम्पादक तथा लेखकद्वयलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका थिए।

विमोचित पुस्तकहरूमाथि ‘व्युत्पत्तिवाद’ विषयमा उपप्रा.डा. बैकुण्ठ घिमिरे र ‘तन्त्रचिन्तामणि’ विषयमा सहप्रा.डा. माधव लामिछानेले प्रकाश पारेका थिए।

यसै अवसरमा नेपाल संस्कृत विश्वविद्यालयमा २५ वर्षभन्दा बढी समय सेवा गरेका २३ जना प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदकसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पदक वितरण विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालबाट गरिएको हो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि प्रा.डा. देवराज अधिकारीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त वाल्मीकि विद्यापीठको पुस्तकालय भवन निर्माणका लागि आगामी आर्थिक वर्षदेखि विश्वविद्यालय अनुदान आयोगले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले संस्कृत ग्रन्थहरूमा रहेको विशिष्ट ज्ञानप्रति चासो व्यक्त गर्दै विमोचित पुस्तकहरू संस्कृत वाङ्मयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

साथै विश्वविद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि आयोग निरन्तर लागिपरेको र कार्यविधिअनुसार प्रस्ताव पेस भएमा सहयोग गर्न तयार रहेको स्पष्ट गरे। उपकुलपतिको निवासमा भएको भौतिक आक्रमणप्रति उनले कडा भर्त्सना पनि गरे।

विशिष्ट अतिथि उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत क्षेत्रमाथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै विश्वविद्यालय सबैको साझा संस्था भएकाले सहकार्यसहित अघि बढ्नुपर्ने धारणा राखे। सेवा आयोगका अध्यक्ष प्रा.डा. भागवत शर्माले पनि विश्वविद्यालयको शैक्षिक मर्यादा र सुरक्षाप्रति संवेदनशील हुन आग्रह गरे।

कुलसचिव प्रा. माधव अधिकारीले विमोचित पुस्तकहरू विश्वविद्यालयको पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्धित तथा तन्त्र र व्युत्पत्तिवादका आधिकारिक ग्रन्थ भएको उल्लेख गर्दै यस्ता प्रकाशनलाई निरन्तरता दिन विश्वविद्यालय तयार रहेको बताए। शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले आचार्य तहको पाठ्यक्रम परिमार्जन अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्दै उपकुलपतिमाथि भएको आक्रमण निन्दनीय भएको बताए। साथै वाल्मीकि विद्यापीठको पुस्तकालय भवन निर्माण र समग्र शैक्षिक–प्रशासनिक विकासका लागि थप सहयोगको आग्रह गरे।

कार्यक्रमका सभापति तथा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेले पुस्तकालय भवन निर्माण र हालको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पुस्तकालयलाई इ–लाइब्रेरीमा रूपान्तरण गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
पुस्तकका व्याख्याकार प्रा. विद्यानाथ उपाध्याय भट्टले लामो प्रयासपछि ग्रन्थ प्रकाशन हुन सकेकोमा खुसी व्यक्त गर्दै विश्वविद्यालयका वर्तमान तथा पूर्व पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको स्वागत मन्तव्य वाल्मीकि विद्यापीठ कर्मचारी सङ्घ एकाइ समितिका अध्यक्ष वसन्ती जोशीले गरृक ीथिइन।

प्रतिक्रिया