- जगत वाशिष्ठ
काठमाडौं । प्रधानाध्यापकहरूको नेतृत्व क्षमता र व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रधानाध्यापक संघ (पान) काठमाडौं महानगर समितिको आयोजनामा “प्रधानाध्यापक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा तीन महत्वपूर्ण सत्र सञ्चालन गरिएका थिए। ती सत्रहरूमा विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रभावकारी प्रयोग, विद्यालय लेखा व्यवस्थापन (School Accounting) तथा शिक्षक दरबन्दी मिलान विषयमा प्यानल छलफल गरिएको थियो। विद्यालय व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम २०८२ साल पुस १६ गते बुधबार काठमाडौंको पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्गमा सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौं महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँगै विद्यालयका लेखा सहायक र लेखा हेर्ने शिक्षकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्यलाई सम्मान गरिएको थियो। आचार्यले विद्यावारिधि (PhD) उपाधि प्राप्त गरेको अवसरमा पान केन्द्रीय समिति तथा महानगर समितिले संयुक्त रूपमा सम्मान गरेको हो।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै डा. आचार्यले पानको भूमिकाको प्रशंसा गर्दै यसलाई गैरराजनीतिक, गैरयुनियन र व्यावसायिक संस्थाका रूपमा स्थापित भएको बताए। उनले एसईई परीक्षालाई अझ विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए। पारदर्शिता र जवाफदेहिता शिक्षाक्षेत्रको आधार भएको उल्लेख गर्दै उनले काठमाडौंका विद्यालयहरूमा देखिएको बेरुजु फर्छ्यौट गर्न सरोकारवाला निकायलाई आग्रह गरे।
कार्यक्रममा पानका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतमले कार्यक्रमको औचित्य र महत्वबारे प्रकाश पार्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यका साथ पान स्थापना गरिएको बताए। पान गैरराजनीतिक, गैरयुनियन र गैरनाफामूलक संस्था भएको स्पष्ट पार्दै उनले विद्यालयको नेतृत्व परिवर्तन भए मात्र शिक्षामा गुणात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।
प्यानल छलफल कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका वरिष्ठ अधिकृत कृष्णकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाको शिक्षा विभागका अधिकृत इन्द्र दाहाल, नेपाल शिक्षक महासंघ काठमाडौं महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारी तथा भानु माध्यमिक विद्यालय (दरबार हाईस्कूल) की प्रधानाध्यापक एवं पान केन्द्रीय सदस्य शारदा कुमारी पौडेल प्यानलिस्टका रूपमा सहभागी थिए। प्यानल छलफलको सहजीकरण पानका महासचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।






