काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले उच्च शिक्षाको इतिहासमा नयाँ अध्याय थप्दै पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि प्रदान गरेको छ। विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायअन्तर्गत ‘डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट’ विषयमा अछामका बाबुराम भुलले पीएचडी उपाधि हासिल गरेका हुन्।
हाल महालेखा परीक्षकको कार्यालयमा लेखापरीक्षण शाखा अधिकृतका रूपमा कार्यरत भुल अछामको बान्नीगढी जयगढ गाउँपालिका–३, बरदादेवी भुवामाझका स्थायी बासिन्दा हुन्। उनले ‘प्रतिनिधिमूलक कर्मचारीतन्त्रः नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका व्यक्तिमा सकारात्मक विभेद (आरक्षण) सम्बन्धी दृष्टिकोण र संगठनात्मक प्रतिबद्धताबीचको सम्बन्ध’ शीर्षकमा अनुसन्धान सम्पन्न गरेका छन्।
भुलको अध्ययनले निजामती सेवामा कार्यरत सीमान्तकृत समुदायका कर्मचारीहरूको आरक्षणप्रतिको धारणा र उनीहरूको संगठनप्रतिको प्रतिबद्धताबीचको सम्बन्धलाई विश्लेषण गरेको छ। यस अनुसन्धानले समावेशी शासन, सार्वजनिक सेवा सुधार र आरक्षण नीतिको प्रभावकारिताबारे तथ्यमा आधारित बहस अघि बढाउने विश्वविद्यालयको विश्वास छ।
डा. भुल उक्त समुदायबाट विद्यावारिधि हासिल गर्ने दाेस्राे व्यक्ति भएकाे बुझिएकाे छ । यो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि सीमान्तकृत समुदायका लागि उच्च शिक्षामा पहुँच र प्रतिनिधित्व विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
भुलले २०६४ सालमा सरस्वती माध्यमिक विद्यालय, जयगढबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर, कानुनमा स्नातक तथा एमफिलसम्मको अध्ययन पूरा गरेका छन्।
नेपाल खुला विश्वविद्यालयले डा. भुललाई आगामी माघ ११ गते हुने दीक्षान्त समारोहमा औपचारिक रूपमा दीक्षित गर्ने जनाएको छ। उक्त समारोहमा विश्वविद्यालयका उपकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दीक्षा प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।


