पोखरा । कक्षा–कोठाभित्र सीमित किताबी शिक्षाभन्दा बाहिर निस्केर विद्यार्थीलाई व्यवहारिक, सामाजिक र नेतृत्व क्षमतामा सक्षम बनाउने उद्देश्यसहित विद्यार्थी गुणीय चक्र (एसक्यूसी)को १९औं राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।
क्वेस्ट नेपालको आयोजनामा यही पुस ३० देखि माघ २ गतेसम्म पोखरा महानगरपालिका–नयाँगाउँस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा देशभरका ७४ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् भने करिब एक सय जना शिक्षक तथा शिक्षा क्षेत्रका विज्ञ पर्यवेक्षकका रूपमा उपस्थित रहने आयोजकले जनाएको छ । सम्मेलनमार्फत विद्यार्थीलाई समस्या पहिचान, सामूहिक छलफल र समाधान खोज्ने संस्कार विकास गराउने लक्ष्य राखिएको छ ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्वेस्ट नेपालका अध्यक्ष नारद रिजालले विद्यार्थीलाई केवल परीक्षा केन्द्रित ज्ञानमा सीमित नराखी समाज र जीवनसँग जोडिएको शिक्षा दिन सम्मेलन महत्त्वपूर्ण हुने बताए । उनले भनिन, ‘विद्यार्थी गुणीय चक्रले बालबालिकालाई आफ्नै परिवेशका समस्या बुझ्न, समाधानको बाटो खोज्न र आत्मविश्वासी नागरिक बन्न प्रेरित गर्छ ।’
विद्यार्थी गुणीय चक्र कार्यक्रम सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा लागू हुँदै आएको छ । हाल देशभरका २ सयभन्दा बढी विद्यालयले यसलाई पाठ्यक्रम तथा सह–पाठ्यक्रम गतिविधिका रूपमा सञ्चालन गरिरहेका छन् । यसको अवधारणा सन् १९६२ मा जापानको औद्योगिक क्षेत्रमा सुरु भएको हो, जसलाई सन् १९९९ मा प्रा.डा. दिनेशप्रसाद चापागाईंले नेपालमा भित्र्याएका थिए ।
सेन्ट मेरिज माविकी प्रधानाध्यापक सिस्टर जेसी सिजेले एसक्यूसीले बालबालिकालाई समस्याको मूल कारणसम्म पुगेर समाधान खोज्न सिकाउने बताइन् । उनले भनिन्, ‘यसले चरित्र निर्माण, सहकार्य र नेतृत्व विकासमा ठोस योगदान पुर्याउँछ ।’
सम्मेलन निर्देशक देवराज घिमिरेका अनुसार देशभरका २७ वटा ‘हव’बाट छनोट भएका विद्यार्थी प्रतिनिधिले आफ्ना विद्यालय तथा समुदायमा समाधान गरेका समस्यासम्बन्धी कार्य प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै सम्मेलनमा एआई कार्यशाला, दिगो विकाससम्बन्धी छलफल, विषयगत संवाद तथा पोखराका विभिन्न स्थानमा शैक्षिक भ्रमण पनि गरिनेछ ।
सम्मेलनकै अवसरमा अन्तर्राष्ट्रियस्तरको ‘दिनेश चापागाईं क्वालिटी अवार्ड’ तथा राष्ट्रियस्तरका ‘एसक्युपी हव अवार्ड’ र ‘एसक्युसी क्वालिटी विद्यालय अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।


