ताप्लेजुङ । ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्र नमूना कार्यक्रम अघि सारेकाे छ । विद्यालयकाे गुणस्तर सुधारकाे लक्ष सहित पालिकाले अनुदान तथा पुरस्कार कार्यक्रमका विभिन्र कार्यक्रम अघि सारेको हाे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले विद्यार्थी र शिक्षकहरूलाइ लक्षित गर्दै पालिकाले विभिन्र प्राेत्साहनका कार्यक्रम अघि सारेकाे छ । पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीतिगत व्यवस्था गरेर अनुदान, शिक्षक-विद्यार्थी सम्मान तथा शैक्षिक भ्रमण कार्यक्रम कार्यान्वयन गर्नेछ । पालिका अन्तर्गतका प्रत्येक विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई वृहत्त शब्दकोष, सामान्य ज्ञान पुस्तक र विद्यालय पोशाक सेट प्रदान गर्ने कार्यक्रम यसमा राखिएकाे छ। याे पुरस्कार प्रत्येक महिना दिइने बताइएकाे छ । कक्षा अनुसार उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान गरिने व्यवस्था छ।
यसैगरी कक्षा ५ सम्मका विद्यालयले पालिकाद्वारा तयार गरिएको अभ्यास पुस्तिकाको कार्यान्वयन गरेबापत एकलाख रूपैयाँसम्म पुरस्कार समेत दिने पालिकाले जनाएकाे छ । पालिकाले विद्यार्थी संख्याअनुसार २५ हजारदेखि १ लाख रुपैयाँसम्म अनुदान दिने घाेषणा गरेकाे छ । महिनामा कम्तिमा ५ आन्तरिक अभ्यास परीक्षा, ४ लेखन-हाजिरी जवाफ प्रतियोगिता, हिज्जे, हिसाव दौड, पेन्टिङ, वक्तृत्वकला, नृत्य, गायन लगायत कार्यक्रम कार्यतालिका अनुसार सम्पन्न भएमा अनुदान प्रदान गर्ने जनाइएको छ।
पालिकाले २० भन्दा कम विद्यार्थी हुने विद्यालयले २५,००० रुपैयाँ, २०-५० विद्यार्थी हुने विद्यालयले ३५,००० रुपैयाँ, ५०-१०० विद्यार्थी हुने विद्यालयले ५०,००० रुपैयाँ, १००-१५० विद्यार्थी हुने विद्यालयले ७०,००० रुपैयाँ र १५० भन्दा बढी विद्यार्थी हुने विद्यालयले १,००,००० रुपैयाँ अनुदान प्राप्त गर्ने पालिकाले घाेषणा गरेकाे छ ।
पालिकाकाे कार्यक्रम अनुसार प्रत्येक विद्यालयले मासिक रूपमा उत्कृष्ट शिक्षक समेत घोषणा गर्नुपर्नेछ । उक्त शिक्षकलाई एक दिन बराबरको तलव पुरस्कार प्रदान गरिने पालिकाले जनाएकाे छ। उत्कृष्ट शिक्षकमध्ये १० जनालाई चालु आर्थिक वर्षमै एक हप्ताको शैक्षिक भ्रमणको अवसर पनि प्रदान गरिनेछ।
त्यसैगरी कक्षा ८ मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई १०-१० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ। कम्तिमा ४० प्रतिशत विद्यार्थी उतीर्ण हुने विद्यालयहरूलाई प्रथम हुने विद्यालयलाई १ थान स्मार्ट बोर्ड र दोस्रो हुने विद्यालयलाई १ थान ल्यापटप प्रदान गरिनेछ। एसइईमा कम्तिमा ३० प्रतिशत नियमित विद्यार्थी सफल हुने विद्यालयलाई दुई थान स्मार्ट बोर्ड र १ लाख रुपैयाँ अनुदान दिइने व्यवस्था छ।
विशेष विषयगत पुरस्कारमा, अंग्रेजी, गणित, सामाजिक र विज्ञानमा ३० प्रतिशत विद्यार्थी उतीर्ण हुने विद्यालयका शिक्षकलाई एक महिना बराबरको तलवसहित सम्मान गरिनेछ र सर्वोत्कृष्ट विद्यार्थीलाई एक थान ल्यापटप दिइनेछ।
कक्षा ११ र १२ का नियमित गणितका विद्यार्थीहरूलाई वार्षिक २०,००० रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने व्यवस्था पनि पालिकाले गरेको छ। पालिकाका अधिकारी अधिकारीले भने, “यी कार्यक्रमहरू विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने र विद्यार्थी-शिक्षक दुवैलाई प्रोत्साहित गर्ने उद्देश्यले अघि सारिएको हो।”


