- जगत वाशिष्ठ
कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नं. ६ स्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएको छ।
नयाँ पुस्तकालयमा १० हजारभन्दा बढी पुस्तक सहित ई-लाइब्रेरी सुविधा उपलब्ध छ भने एक हजारभन्दा बढी नयाँ पाठ्य सामग्री विद्यार्थी र शिक्षकको अध्ययन-पाठनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले राखिएको छ।
साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा सञ्चालन भएको गगन फाउण्डेसनले पुस्तकालयको संयोजन गरेको हो। यसमा नेपाल लाइब्रेरी फाउण्डेशनले प्राविधिक सहयोग दिएको छ भने अफ्रिकाको युगान्डास्थित रुपारेलिया फाउण्डेसनले आर्थिक सहयोग गरेको छ।
पुस्तकालय सञ्चालन अघि शिक्षक र कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरी सञ्चालन र डिजिटल स्रोत प्रयोग सम्बन्धी तालिमसमेत दिइएको थियो।
उद्घाटन कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले बालबालिकाको भविष्य उज्यालो बनाउन पुस्तकालयको योगदान महत्वपूर्ण हुने बताए। उनले भने, “पुस्तकालयको प्रभावकारी सञ्चालनले विद्यार्थीको पठन-पाठनमा ठुलो सहयोग पुग्नेछ। हाम्रो पालिकाले समेत सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।”
कार्यक्रममा गगन फाउण्डेशनका संरक्षक हिक्मत थापाले आफैंले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भने, “विश्व आज प्रविधिमा आधारित हुँदै गएको छ। पुस्तकालयले विद्यार्थीलाई बाहिरी ज्ञान प्राप्त गर्न सहयोग गर्नेछ। विद्यालय प्रशासनले यसको नियमित सञ्चालनमा ध्यान दिनुपर्छ।”
गगन फाउण्डेशनले रुपारेलिया फाउण्डेसन र नेपाल लाइब्रेरी फाउण्डेशनको सहयोगमा अरुणोदय माध्यमिक विद्यालय (खैरिफाँटा) र वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय (टीकापुर)मा समेत ई–पुस्तकालय सहितका आधुनिक पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।
उदघाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद चौधरी, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन डाक्टर विष्णुविलास अधिकारी, नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, पत्रकार भुवनेश्वर अधिकारी, विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद उपाध्याय लगायतले मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन बमबहादुर धामीले गरेका थिए।






