काठमाडौं । शिक्षक सेवा आयोगद्वारा सञ्चालन गरिएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ठूलो संख्या अनुत्तीर्ण भएको तथ्य सार्वजनिक भएको छ । आयोगका अनुसार परीक्षामा सहभागी ६३ प्रतिशत परीक्षार्थी सफल हुन सकेनन् ।
निमावि तहको लाइसेन्स परीक्षामा कुल ९४ हजार ८४ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ३५ हजार २६८ जना मात्र उत्तीर्ण भएका छन्, जसको अनुपात ३७ प्रतिशत हो ।
आयोगले यस परिणामलाई अघिल्लो वर्षको तुलनामा सकारात्मक सुधारका रूपमा व्याख्या गरेको छ । गत वर्ष निमावि तहमा केवल ९ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए ।
त्यसैगरी, माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा भने उत्साहजनक नतिजा देखिएको छ । सहभागी ३५ हजार ७७६ परीक्षार्थीमध्ये २३ हजार ५८९ जना सफल भएका छन्, जुन कुल परीक्षार्थीको ६८ प्रतिशत हो ।
सामुदायिक विद्यालयहरूमा अनिवार्य विषयका शिक्षकको अभावलाई ध्यानमा राख्दै आयोगले विज्ञान, गणित, अंग्रेजी, कम्प्युटरजस्ता विषयमा शिक्षाशास्त्र नपढेका व्यक्तिलाई पनि लाइसेन्स परीक्षामा सहभागी हुन दिने व्यवस्था गरेको जनाएको छ ।
आयोगका अनुसार हालसम्म प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरी करिब १० लाख अध्यापन अनुमतिपत्र वितरण भइसकेका छन् । सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत हुन अध्यापन अनुमतिपत्र अनिवार्य शर्तका रूपमा लागू गरिएको छ ।


