काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि आवेदन दिएका २९ उम्मेदवारमध्ये ८ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । छनोट तथा सिफारिस समितिले यी उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्तापछि उपाध्यक्ष पदका लागि नाम सिफारिस गर्ने जनाएको छ ।
सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमा गोरखाका उपेन्द्र पोखरेल, महोत्तरीका उमेशकुमार मिश्र, तनहुँका काजीराम अधिकारी, दार्चुलाका कुष्माकर भट्ट, कञ्चनपुरका खेमराज जोशी, झापाका टैलेन्द्र आचार्य, रौतहटका मोहम्मद सफिउल्लाह तथा बाराका हरिशंकरप्रसाद साह रहेका छन् ।
शिक्षा मन्त्रालयका अनुसार उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता पुस २८ गते हुने तय भएको छ । समितिले प्रक्रिया पूरा गरी तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकबाट उपाध्यक्ष नियुक्ति सम्बन्धी अन्तिम निर्णय हुनेछ ।
गत माघ २०८१ यता सीटीईभीटी उपाध्यक्षविहीन अवस्थामा छ । यसअघि तत्कालीन उपाध्यक्ष ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअनुसार बराल उपाध्यक्ष नियुक्त भएका थिए ।
तर उनको योग्यता नपुगेको दाबी गर्दै सर्टलिस्टमै रहेका टैलेन्द्र आचार्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथिको सुनुवाइपछि अदालतले बरालको योग्यता मापदण्डअनुसार नपुगेको ठहर गर्दै नियुक्ति बदर गरेको थियो ।


