काठमाडौँ । भ्रष्टाचारविरुद्धको सशक्त सन्देशलाई कलात्मक अभिव्यक्तिमा उतार्दै नेपालका १५ वर्षीय विद्यार्थी अनुराग पंगेनीले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो पारेका छन् । सन् २०२५ का लागि आयोजित भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनसम्बन्धी अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गरेका हुन् ।
‘भ्रष्टाचार विरुद्ध टुगेदर’ नारासहित सम्पन्न उक्त प्रतियोगिता ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकअन्तर्गत सञ्चालन गरिएको थियो । १० देखि १५ वर्ष उमेर समूहबीच भएको प्रतिस्पर्धामा नेपालबाट सहभागी अनुराग उत्कृष्ट तीनभित्र पर्न सफल भएका हुन् । उनको यस उपलब्धिप्रति नेपालस्थित रुसी दूतावासले औपचारिक रूपमा बधाई दिँदै अन्तर्राष्ट्रिय मञ्चमा युवा सिर्जनशीलताको प्रभावशाली उदाहरण बनेको टिप्पणी गरेको छ ।
रुसी दूतावासका अनुसार अनुरागको पोस्टरले युवामाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीप्रति गहिरो चेतना जगाउने सन्देश बोकेको छ । रचनात्मक सोच र सशक्त प्रतीक प्रयोगका कारण उक्त पोस्टर अन्तर्राष्ट्रिय प्रविष्टिहरूमध्ये प्रभावकारी र अर्थपूर्ण योगदानका रूपमा मूल्याङ्कन गरिएको दूतावासको भनाइ छ । यसले भ्रष्टाचारविरुद्धको विश्वव्यापी अभियानमा युवा नेतृत्व र सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।
आफ्नो सिर्जनाबारे अनुराग भन्छन्, “मैले नेपाली समाजलाई भ्रष्टाचारले चिरा परेको कमजोर सिसाको संरचनाका रूपमा चित्रण गरेको छु । पैसाले मिसाइएको दाउराले लोभ र बेइमानीको प्रतीक गर्छ, जसले भ्रष्टाचारले युवाका अवसरहरू कसरी जोखिममा पार्छ भन्ने देखाउँछ ।” तर पोस्टरको केन्द्रमा निराशा होइन, आशा रहेको उनी जोड दिन्छन् ।
विश्वव्यापी प्रतियोगितामा सहभागिता जनाउँदै तेस्रो स्थान हासिल गरेपछि अनुरागका परिवारका सदस्यहरू पनि गर्व र खुसी व्यक्त गरिरहेका छन् । युवामार्फत भ्रष्टाचारविरुद्ध जागरूकताको सन्देश फैलाएको भन्दै उनलाई विभिन्न तहबाट प्रशंसा समेत प्राप्त भइरहेको छ ।
उक्त प्रतियोगितामा अल्जेरियाकी १४ वर्षीया फतिमा रावनले पहिलो स्थान हासिल गर्दा उज्वेकिस्तानका १४ वर्षीय सोख्जाखोन अब्दुल्लाइभ दोस्रो बने । तेस्रो स्थान भने नेपालका अनुराग पंगेनी र पाकिस्तानकी १४ वर्षीया सदिया जाफरले संयुक्त रूपमा प्राप्त गरेका हुन् ।


