EduPress
'

शिक्षक सेवा आयोगद्वारा ४४५ मावि शिक्षकका लागि दरखास्त आह्वान

Author Image
शुक्रवार, माघ २, २०८२
Text Size:

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह (मावि) तृतीय श्रेणी शिक्षक पदमा ठूलो संख्यामा शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले प्रतियोगितात्मक परीक्षामार्फत ४४५ जना मावि शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान गरेकाे हाे ।

आयोगद्वारा जारी सूचनाअनुसार सामान्य विषयको लिखित परीक्षा २०८२ वैशाख ७ गते शनिबार अपराह्न २ बजे हुने तय भएको छ भने विषयगत परीक्षा र अन्तर्वार्ताको मिति पछि सार्वजनिक गरिने बताइएकाे छ।

आयोगले सात वटै प्रदेशका मुकाम रहेका जिल्लामा परीक्षा केन्द्र ताेकेकाे छ । साथै आवश्यकताअनुसार अन्य जिल्लामा पनि परीक्षा केन्द्र थप गर्न सकिने आयोगले जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले शिक्षक सेवा आयोगको अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। दरखास्त दिने अन्तिम मिति २०८२ वैशाख ३ गते राति ११ः५९ बजेसम्म तोकिएको छ। तोकिएको मितिभन्दा पछि आवेदन दिने उम्मेदवारले दोब्बर दस्तुर तिरेर २०८२ वैशाख १० गते कार्यालय समयभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।दस्तुर अनलाइन भुक्तानी प्रणालीमार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ वा बैंकमार्फत भुक्तानी गर्न सकिने आयोगले जनाएको छ।

उम्मेदवारले मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १० महिने शिक्षक तालिम लिएको हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ।

आवेदन प्रक्रिया, परीक्षा तथा अन्य विवरण शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खबर