EduPress
'

एउटै टोलबाट पाँच विद्यावारिधि, मेचीनगरको शैक्षिक इतिहासमा गौरवपूर्ण अध्याय

Author Image
आइतवार, माघ ४, २०८२
Text Size:

झापा । मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीले नेपाली शैक्षिक क्षेत्रमा दुर्लभ र प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। एउटै टोलमा हुर्किएका, एउटै विद्यालयमा अध्ययन गरेका पाँच जना पूर्वविद्यार्थीले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेपछि उक्त टोल मात्र होइन, समग्र वडा नै गौरवले भरिएको छ।

विद्यावारिधि प्राप्त गर्नेमा डा. टीका भण्डारी, डा. हरिप्रसाद कट्टेल, डा. जीवनमणि पौडेल, डा. केदारमणि नेपाल र डा. डिल्लीराम भण्डारी रहेका छन्। पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरेका थिए भने उनीहरूको बसोबास पनि एउटै वडाको एउटै टोलमा रहेको छ। यसले स्थानीय स्तरमै शैक्षिक संस्कार कति सशक्त हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

सङ्गीतकार, गायक तथा रेडियो नेपालका पूर्वनिर्देशक डा. टीका भण्डारीले विद्यावारिधि हासिल गर्नु व्यक्तिगत उपलब्धि मात्र नभई आफ्नो जन्मथलोको शैक्षिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर भएको बताए। ‘हाम्रो टोल र विद्यालयले दिएको मूल्य, अनुशासन र प्रेरणाकै परिणाम हो आजको यो सफलता,’ उनले भने।

डा. हरिप्रसाद कट्टेलका अनुसार कवि शिरोमणि माध्यमिक विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको मार्गदर्शन र गाउँको सकारात्मक सामाजिक परिवेशले पाँचै जनालाई अध्ययनको उपल्लो खुड्किलासम्म पुग्न प्रेरित गर्‍यो। बाल्यकालदेखि नै आपसी मित्रता, सहयोग र पढाइप्रतिको लगाव उनीहरूको साझा विशेषता रहेको उनले बताए। पाँचै जनाले विद्यावारिधि गरेका विषय फरक फरक भए पनि लक्ष्य एउटै ज्ञानमार्फत समाजमा योगदान गर्ने रहेको उनको भनाइ छ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच पूर्वविद्यार्थीले विद्यावारिधि हासिल गरेको समाचारले अहिलेका विद्यार्थीमा मेहनत, धैर्य र ठूलो सपना देख्ने हौसला जगाएको बताइन्। ‘एउटै वडाका, एउटै विद्यालयमा पढेका पाँच साथीले यति ठूलो शैक्षिक सफलता हासिल गर्नु समग्र वडाकै गौरव र प्रेरणाको स्रोत हो,’ उनले भनिन्।

खुट्टीडाँगीको यो उपलब्धिले ग्रामीण परिवेशमै पनि दृढ इच्छाशक्ति, सही मार्गदर्शन र अनुकूल वातावरण भए अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सकिने मानव संसाधन उत्पादन सम्भव छ भन्ने देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर