EduPress
'

स्लिपर्स टु स्याटः सामुदायिक विद्यालयमा पढ्ने चेपाङ बालबालिकाले बनाएको स्याटेलाइट अन्तरिक्षमा परिक्रममा गर्दै

Author Image
सोमवार, माघ ५, २०८२
Text Size:

काठमाडौँ । नेपालमा विज्ञान र प्रविधि अझै पनि सीमित शहरी पहुँच र महँगा पूर्वाधारसँग मात्र जोडिने विषय मानिँदै आएको छ। तर, चितवनका सरकारी विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरूको सहभागितामा निर्माण गरिएको नेपाली न्यानो-स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ ले यो धारणा तोडिदिएको छ। यो परियोजनाले समावेशी शिक्षा, विज्ञान नीति र राष्ट्रिय क्षमताको बहसलाई नयाँ तहमा पुर्‍याएको छ।

चितवनको सामुदायिक विद्यालयमा पढ्दै गरेका चेपाङ बालबालिकाले बनाएको स्याटेलाइट अहिले अन्तरिक्षमा पृथ्वीको परिक्रमा गर्दै दिनको दुई पटक नेपालको आकाशमा पुग्ने गरेको छ । जसबाट पृथ्वीको महत्वपूर्ण सूचनाहरु लिने र अध्ययन गर्ने बताइएको छ ।

उक्त स्याेटेलाइट पृथ्वीको सतहबाट करिब ५५० किलोमिटर माथि कक्षामा रहेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ग्राउन्ड स्टेसनबाट यसको पहिलो सिग्नल सम्पर्कको निरन्तर प्रयास भइरहेको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ।

१ किलो २० ग्राम तौलको यो १यू क्युबस्याट नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो उपग्रह हो। यसमा जडित दुईवटा क्यामेराले वनस्पति, जलस्रोतको अवस्था अध्ययन गर्नेछन् भने भूकम्प पूर्वसूचनासम्बन्धी प्रविधिको परीक्षणका लागि पनि डाटा संकलन हुनेछ। स्याटेलाइट कम्तीमा डेढ वर्षसम्म सक्रिय रहने अनुमान छ।

तर ‘स्लिपर्स टु स्याट’ को महत्व प्राविधिक क्षमतामा मात्र सीमित छैन। यो परियोजना अन्तरिक्ष प्रतिष्ठान नेपाल र अमेच्योर रेडियो डिजिटल कम्युनिकेसन्स फाउन्डेसनको संयुक्त शैक्षिक पहल हो, जसको मुख्य लक्ष्य कक्षा ९–१२ का विद्यार्थीलाई स्वतन्त्र रूपमा क्युबस्याट डिजाइन र निर्माण गर्न सक्षम बनाउनु हो।

यस परियोजनामा चितवनका चेपाङ समुदायका कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीहरू प्रत्यक्ष सहभागी थिए। यी विद्यार्थीहरू धेरै हदसम्म पहिलो पुस्ताका स्कुल जाने बालबालिका हुन्। ‘स्लिपर्स टु स्याट’ नामकरण नै “चप्पल किन्न पनि कठिन समुदायबाट उपग्रह निर्माणसम्म” को यात्रालाई संकेत गर्छ।

शिक्षाविद्हरूका अनुसार, यो सहभागिताले नेपालमा लामो समयदेखि उठ्दै आएको ‘सीमान्तकृत समुदायका विद्यार्थीहरू विज्ञानमा कमजोर हुन्छन् कि अवसरबाट वञ्चित हुन्छन् ?’ भन्रे प्रश्नलाई व्यवहारिक रूपमा चुनौती दिएको छ। पर्याप्त मार्गदर्शन र परियोजना–आधारित सिकाइ पाउँदा उनीहरू पनि उच्चस्तरीय वैज्ञानिक अवधारणामा संलग्न हुन सक्ने देखिएको छ।

नेपालले यसअघि ‘नेपालीस्याट-१’ जस्ता उपग्रहमा अन्तर्राष्ट्रिय सहकार्यमार्फत सहभागिता जनाएको थियो। तर ‘स्लिपर्स टु स्याट’ नेपालमै बनेको पहिलो उपग्रह हुनुका कारण यसले राष्ट्रिय विज्ञान नीतिमा नयाँ प्रश्न उठाएको छ- के नेपालले विद्यालय तहबाटै अन्तरिक्ष विज्ञान र प्रविधिमा दीर्घकालीन लगानीको मोडल विकास गर्न सक्छ ?

विज्ञहरूका अनुसार, यदि यस्ता शैक्षिक परियोजनालाई संस्थागत गरियो भने नेपालमा STEM शिक्षा, नवप्रवर्तन र मानव संसाधन विकासमा गुणात्मक फड्को सम्भव छ। तर त्यसका लागि सरकारी नीति, बजेट र विश्वविद्यालय–विद्यालय सहकार्य अपरिहार्य हुने उनीहरूको भनाइ छ।

चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट मंसिर २४ गते चिनियाँ रकेट काइनेटिका–१ मार्फत याे स्याटेलाइन अन्तरिक्षमा पुर्याइएकाे थियाे । चीनले लिजियान–१ (काइनेटिका–१) रकेटमार्फत एकैपटक नौवटा उपग्रह प्रक्षेपण गरेको उडानअन्तर्गत भएको हो। तीमध्ये यूएई, इजिप्ट र नेपालका अन्तर्राष्ट्रिय उपग्रहहरू पनि थिए। नेपालका लागि यो सहभागिता वैज्ञानिक क्षमताको प्रतीकात्मक मान्यताका रूपमा हेरिएको छ।

‘स्लिपर्स टु स्याट’ कुनै एक परियोजनाको सफलतामात्र होइन। यसले नेपालमा विज्ञान शिक्षा कसरी रूपान्तरण गर्न सकिन्छ, सीमान्तकृत समुदायलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ, र राष्ट्रिय क्षमता विकास कसरी सम्भव छ भन्ने बहसलाई व्यवहारिक उदाहरणसहित अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर