काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार बिहान प्रधानमन्त्री सुशिला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। निर्वाचन आचारसंहिता लागू हुनुअघि नै राजीनामा दिएका पुन अब प्रत्यक्ष चुनावी राजनीतिमा जाने तयारीमा रहेको बुझिएको छ।
स्रोतका अनुसार मन्त्री पुन चुनाव लड्ने निचोडमा पुगेका छन्। तर उनी कुन दलबाट वा कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् भन्ने विषय भने सार्वजनिक भइसकेको छैन। मन्त्री पुनलाइ रास्वपाले चुनाव लड्न अफर गरेकाे धेरैले अाँकलन गरेका छन् ।
वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाको जानकारी दिँदै, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभएको छ,” भनेर उल्लेख गरेका छन् ।
मन्त्री पुनले शिक्षा क्षेत्रलाई संघीय संरचनाअनुसार पुनर्संरचना गर्ने लगायतका थुप्रै प्रयास थालेका थिए। विशेषगरी शिक्षा नियमावली–२०५९ को दशौँ संशोधनमार्फत विद्यालय शिक्षाको व्यवस्थापन स्थानीय तहलाई स्पष्ट रूपमा हस्तान्तरण गर्ने, शिक्षक सरुवा प्रक्रियालाई पारदर्शी बनाउने र विद्यालय प्रशासनमा राजनीतिक हस्तक्षेप न्यून गर्ने एजेन्डालाई उनले प्राथमिकतामा राखेका थिए। शिक्षा नियमावली संशोधन प्रस्ताव अन्तिम चरणसम्म पुगे पनि निर्वाचन आचारसंहिताका कारण प्रक्रिया रोकिएको थियो। यही संशोधनमार्फत शिक्षक व्यवस्थापन, प्रधानाध्यापक छनोट, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन समितिको पुनर्संरचना गर्ने तयारी मन्त्रालयले गरेको थियो।
त्यसैगरी मन्त्री पुनले शिक्षासँगै विज्ञान तथा प्रविधि क्षेत्रमा पनि निकै जोड दिएका थिए । उनले शैक्षिक अनुसन्धान, STEM शिक्षा र नवप्रवर्तनलाई विद्यालय तहसम्म विस्तार गर्नुपर्ने उनको धारणा थियो। उनले शिक्षा सुधारलाई दीर्घकालीन सामाजिक रूपान्तरणको आधारका रूपमा व्याख्या गर्दै आएका थिए। उनले विज्ञान प्रविधि मन्त्रालयलाइ छुट्टै मन्त्रालय बनाउनुपर्ने धारणा पनि राखेका थिए ।
त्यसैगरी उनले विश्वविद्यालय सम्बन्धी छाता ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी ऐन लगायतका अध्यादेशहरुलाई अघि बढाउन प्रयास गरेका थिए । विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने उनकाे महत्वपूर्ण पहलकदमी थियाे ।


