EduPress
'

महावीरले भने, “म अरुको घन्टी होइन दिमागको घन्टी बजाउन उम्मेदवार बनेको हुँ”

Author Image
मङ्गलवार, माघ ६, २०८२
Text Size:

म्याग्दी । शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका महावीर पुनले आफू परम्परागत सत्ता राजनीति होइन, विचार र चेतनामा हलचल ल्याउने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले भने, “म घन्टी बजाउन होइन, मानिसहरूको दिमागमा घन्टी बजाउन राजनीतिमा आएको हुँ।” उनले देशको राजनीतिक अभ्यासमा नेतृत्वभन्दा पनि आत्मकेन्द्रित प्रतिस्पर्धा हाबी भएको टिप्पणी गरे।

युवापुस्ताप्रति अपेक्षा भए पनि व्यवहारमा निराशा देखिएको भन्दै उनले भने, “हिजोसम्म लाग्थ्यो, युवाहरूले केही नयाँ गर्छन् होला। तर अहिले देख्दा सबै आफू नै प्रधानमन्त्री बन्ने सोचमा छन्, सहकार्य गर्ने संस्कार देखिँदैन।”

उनका अनुसार पुराना दलहरूबीच देखिँदै आएको आपसी असमझदारी र खुट्टा तान्ने प्रवृत्ति नयाँ पुस्तामा पनि दोहोरिन थालेको छ। “पुराना पार्टीहरूको कमजोरी त सबैलाई थाहा छ, तर परिवर्तनको आशा गरिएका युवाहरूमा पनि उही प्रवृत्ति देख्दा राजनीतिप्रति झनै असन्तुष्टि बढ्यो,” उनले भने।

म्याग्दीमा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीबाट अर्जुनबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका उम्मेदवार रहेका छन्। यी प्रतिस्पर्धीबीच पुन स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खबर