पाल्पा । निर्वाचन आचारसंहिता लागू भएसँगै शिक्षक सरुवा, नियुक्ति तथा पदस्थापनसम्बन्धी कामहरू तत्कालका लागि स्थगित गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, पाल्पाले सूचना जारी गर्दै आचारसंहिता कायम रहुन्जेल कुनै पनि किसिमको शिक्षक सरुवा, नियुक्ति, बढुवा वा पदस्थापन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
इकाइले निर्वाचन आयोगबाट जारी आचारसंहिताका कारण मिति २०८२ सालको निर्वाचन प्रक्रिया सम्पन्न नहुन्जेलसम्म यस किसिमका प्रशासनिक निर्णय रोक्का गरिएको जानकारी गराएकाे छ। सूचनामा यस अवधिमा कुनै नयाँ निर्णय भए गरेकाे भेटिएमा त्यसलाई मान्यता नदिइने बताइएकाे छ।
सूचनामा नियमित पठनपाठन, आन्तरिक मूल्याङ्कन, परीक्षा सञ्चालन, विद्यार्थी भर्ना तथा शैक्षिक गतिविधिमा भने कुनै अवरोध नपर्ने बताइएकाे छ । इकाइले जिल्लाका सबै विद्यालयहरूलाइ यही निर्देशन वमाेजिम व्यवस्था मिलाउन भनेको छ। आचारसंहिता लागू भए पनि विद्यार्थीको सिकाइ अधिकार प्रभावित हुन नदिन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले समन्वयकारी भूमिका खेल्नुपर्ने इकाइले जनाएको छ।
शिक्षक सरुवा र नियुक्ति रोकिँदा केही विद्यालयमा शिक्षक अभावको समस्या देखिन सक्ने भए पनि आचारसंहिता उल्लङ्घन नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ। आवश्यक परे आन्तरिक कार्यविभाजन, अस्थायी जिम्मेवारी र समय तालिका मिलाएर पठनपाठनलाई निरन्तरता दिनुपर्ने सूचनामा उल्लेख छ।
शिक्षा विकास तथा समन्वय इकाइले निर्वाचन सम्पन्न भएसँगै शिक्षक सरुवा, नियुक्ति र अन्य प्रशासनिक प्रक्रिया पुनः नियमित रूपमा अघि बढाइने स्पष्ट पारेको छ। साथै, आचारसंहिता विपरीत कुनै कार्य भएमा त्यसको जिम्मेवारी सम्बन्धित निकाय स्वयंले व्यहोर्नुपर्ने चेतावनी पनि दिइएको छ।


