EduPress
'

अधिकारी गण्डकी विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

Author Image
बुधवार, माघ ७, २०८२
Text Size:

पोखरा । गण्डकी विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सहप्राध्यापक डा. कृष्णराज अधिकारीले सम्हालेका छन्। न्यायिक परिषद्‌बाट सिफारिस भई आएका तीन उम्मेदवारमध्ये मेरिट सूचीको शीर्ष स्थानमा परेका अधिकारीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माघ ४ गते उपकुलपतिमा नियुक्त गरेका हुन्। उनले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

फागुन २१ गते तय निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै छनोट प्रक्रिया टुंग्याइएको थियो। न्यायिक परिषद्‌अन्तर्गत गठित छनोट समितिले योग्यता र कार्यसम्पादनका आधारमा तीन जनाको नाम सिफारिस गरेकोमा मुख्यमन्त्री पाण्डेले पहिलो नम्बरमा सिफारिस भएका अधिकारीलाई नियुक्त गरेका हुन्।

प्रा.डा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा गठित छनोट समितिमा परिषद्‌की सदस्य संगीता सिंह र प्रदेश लोकसेवा आयोग गण्डकीका सदस्य योगेन्द्र गौचन रहेका थिए। समितिले पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख सरोज कोइराला र वन विज्ञान अध्ययन संस्थानका पूर्व डिन वीरबहादुर खनालको नाम पनि सिफारिस गरेको थियो। उपकुलपतिका लागि कुल छ जना प्रतिस्पर्धामा थिए।

गत असोज १४ गते पूर्व उपकुलपति प्रा.डा. नवराज देवकोटाको पाँचवर्षे कार्यकाल सकिएपछि कात्तिकमा नयाँ छनोट समिति गठन गरिएको थियो। गण्डकी विश्वविद्यालय स्थापनाकालमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. गणेशमान गुरुङलाई कुलपतिमा नियुक्त गरेका थिए। विश्वविद्यालयलाई स्वायत्त बनाउने दाबीका साथ गरिएको उक्त नियुक्ति कार्यसम्पादनका विषयमा विवादमा पनि परेको थियो। त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस कोटाबाट प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई कुलपतिमा नियुक्त गरेका थिए। हाल कांग्रेस–एमाले सहभागी सरकारको सन्तुलनअनुसार एमालेनिकट अधिकारी उपकुलपतिमा नियुक्त भएका हुन्।

डा.अधिकारीले त्रिभुवन विश्वविद्यालयमा करिब २८ वर्ष सेवा गरेपछि यही वर्ष अवकाश पाएका थिए। सौर्य ऊर्जामा विद्यावारिधि गरेका उनी एमालेनिकट मानिए पनि प्राज्ञिक क्षेत्रमा विवादरहित, अनुसन्धान र नवप्रवर्तनमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी फिजिकल सोसाइटी गण्डकीका अध्यक्ष रहिसकेका छन् भने अवकाशपछि पनि इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा रिसर्च म्यानेजमेन्ट सेलको प्रमुखका रूपमा कार्यरत थिए। ‘जर्नल अफ इन्जिनियरिङ एन्ड साइन्सेन्स’का प्रमुख सम्पादकसमेत रहेका अधिकारीले विश्वविद्यालयलाई अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय उच्च शिक्षातर्फ केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “रोजगारमुखी र उद्यमशीलता विकास गर्ने कार्यक्रम ल्याउनुपर्छ। खनिज इन्जिनियरिङजस्ता नयाँ विषय सुरु गर्दै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनेछु। सरकारसँग सहकार्य गर्दै विश्वविद्यालयलाई आकर्षक र गुणस्तरीय बनाउने मेरो लक्ष्य हो।”

यता, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाको कार्यकाल पनि माघ ५ गते सकिएको छ। पाँचवर्षे कार्यकालको अन्त्यसँगै उनी बिदा भएका छन्। तिमिल्सिनाको कार्यकालको अन्तिम चरणमा करारमा कार्यरत सबै शिक्षक तथा कर्मचारीलाई स्थायी बनाइएको विषय भने विवादित बनेको छ।

नियमावलीले आन्तरिक प्रतियोगिताका लागि परीक्षा मिति र स्थान कम्तीमा १५ दिनअघि राष्ट्रिय पत्रपत्रिका र विश्वविद्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरे पनि सो प्रक्रिया पालना नगरिएको आरोप छ। पुस २ गते जनशक्ति व्यवस्थापन समितिको स्वीकृतिमा एकैपटक ७० जनालाई स्थायी गर्न नाम सिफारिस गरिएको थियो। पुस १८ गतेका लागि तय गरिएको आन्तरिक परीक्षा उच्च अदालतमा रिट परेपछि रातारात अघि सार्दै पठनपाठन बन्द गरेर लिइएको थियो।

एकपटकका लागि भन्दै २१ जना प्रशासनिक, २५–२६ जना शैक्षिक तथा श्रेणीविहीन कार्यालय सहयोगी र चालक गरी स्थायी गरिएको हो। यसअघि पनि स्थायी प्रक्रिया विरुद्ध उच्च अदालत र सर्वोच्च अदालतमा रिट दायर भएका थिए। केही रिट खारेज भए पनि एक मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन अवस्थामा रहँदा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत पाएका रजिस्ट्रार तिमिल्सिनाकै पहलमा प्रक्रिया अघि बढाइएको आरोप लागेको छ।

अब विश्वविद्यालयले नयाँ रजिस्ट्रार नियुक्तिको प्रक्रिया सुरु गर्ने जनाइएको छ। नियमअनुसार उपकुलपतिको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसका आधारमा रजिस्ट्रार नियुक्त हुने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खबर