- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च प्रशासनिक निकायमा लगाइएको तालाबन्दी २५ दिनपछि अन्ततः खाेलिएको छ। अनेरास्ववियु (क्रान्तिकारी) त्रिवि जिल्ला समितिले गत पुस १९ गतेदेखि लगाएको ताला आज विश्वविद्यालय प्रशासनले प्रहरी प्रशासनको सहयोगमा खोलेको हो।
उपकुलपति प्राडा दीपक अर्यालका अनुसार उपकुलपति, रेक्टर तथा रजिस्ट्रार कार्यालयमा लागेको ताला विद्यार्थी संगठनले आफैं नखोलेपछि प्रशासन बाध्य भएर खोल्नुपरेको हो। “आज बिहान ८ बजेसम्म ताला खोल्न अल्टिमेटम दिएका थियौँ। निर्धारित समयसम्म ताला नखुलेपछि आफ्नै कार्यकक्षको ताला खोल्नुपर्यो,” उनले बताए।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन विषयका चार केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउनुपर्ने माग राख्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो।
उपकुलपति अर्यालले विद्यार्थीका मागलाई बेवास्ता नगरिएको स्पष्ट पार्दै शुल्क समायोजनका लागि तीन सदस्यीय समिति गठन भइसकेको जानकारी दिए।
उनले भने, “समितिलाई तीन महिनाको समय दिइएको छ। समितिको सिफारिसअनुसार शुल्क समायोजन गरिनेछ। तत्कालै शुल्क घटाउन सम्भव हुँदैन, यसका लागि प्रक्रिया आवश्यक हुन्छ ।”
शुल्क समायोजनको प्रक्रिया केवल ती चार विभागमा मात्र सीमित नरही अन्य संकाय र सम्बन्धन प्राप्त कलेजसम्म विस्तार गरिने उनकाे भनाइ छ । विभिन्न कलेजले फरक-फरक शुल्क लिँदै आएको पाइएको भन्दै समितिले सबै कलेजको शुल्क संरचना अनुगमन गर्ने तयारी गरिएको उनले बताए।
तालाबन्दीका कारण विश्वविद्यालयका नियमित प्रशासनिक कामकाज प्रभावित हुँदै आएपछि सोमबार रजिस्ट्रार कार्यालयले ताला खोल्न चेतावनी दिएको थियो। तर विद्यार्थी संगठनबाट पहल नभएपछि अन्ततः प्रशासनले आज प्रहरी सहयोगमा ताला खोल्नुपरेको हो।


