EduPress
'

विद्यार्थीका माग समाधान गर्न त्रिविद्वारा वार्ता समिति गठन

Author Image
मङ्गलवार, माघ १३, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालन हुने तीन वर्षे स्नातक तहका तेस्रो वर्षका मौका परीक्षासम्बन्धी विवाद समाधानका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्ता समिति गठन गरेको छ।

त्रिवि पनिकाले सह–परीक्षा नियन्त्रक डा. दाबा शेर्पाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो। परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा जारी विज्ञप्ति अनुसार वार्ता समितिमा सह–परीक्षा नियन्त्रक डा. कवि राज पौड्याल सदस्य र परीक्षा प्रशासन महाशाखाका प्रमुख भोला सिवाकोटी सदस्य सचिव रहेका छन्। समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सँग संवाद गरी समाधान खोज्ने जनाइएको छ।

स्ववियुले मौकाका परीक्षाका सम्पूर्ण केन्द्र काठमाडौंमै तोकिएको निर्णयप्रति आपत्ति जनाउँदै परीक्षा केन्द्र प्रदेशमै कायम गर्न माग गरेको छ। संघीय शासन व्यवस्था, त्रिविको विकेन्द्रीकरण नीति तथा समान पहुँचको सिद्धान्तअनुसार परीक्षा सञ्चालन हुनुपर्ने युनियनको तर्क छ।

काठमाडौं केन्द्रित परीक्षा प्रणालीका कारण प्रदेशका विद्यार्थीहरू आर्थिक, मानसिक तथा भौगोलिक रूपमा समस्यामा पर्ने अवस्था सिर्जना भएको छ। त्यसैले कम्तीमा प्रत्येक प्रदेशमा एक-एक वटा मौकाको परीक्षा केन्द्र कायम गर्नुपर्ने माग अघि सारिएको छ।
युनियनले माग सम्बोधन नभए विद्यार्थीको हकहित संरक्षणका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ। तर, हाल त्रिविद्वारा गठन गरिएको वार्ता समितिपछि समस्या संवादमार्फत समाधान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर