EduPress
'

त्रिवि उपकुलपति कप सुरु, ३८ क्याम्पसका १३८० खेलाडी मैदानमा

Author Image
बुधवार, माघ १४, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ। माघ १४ देखि १८ गते २०८२ सम्म काठमाडौंमा सञ्चालन हुने प्रतियोगिता शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा गरेको हो।

उपकुलपति कपअन्तर्गत पाँचवटा विधाका खेलहरू समावेश गरिएका छन् । जसमा त्रिविका ३८ आंगिक क्याम्पसका करिब १ हजार ३८० खेलाडी सहभागी छन्। प्रतियोगितामा २०० भन्दा बढी प्रशिक्षक तथा टिम म्यानेजर र १५० भन्दा बढी निर्णायक, प्राविधिक पदाधिकारी तथा खेल संघका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा संलग्न रहेका छन्।

प्रतियोगिताको औपचारिक उद्घाटन कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईले गरेका हुन ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीका अनुसार टेबल टेनिस (महिला/पुरुष) लैनचौर कभर्ड हलमा, ब्याडमिन्टन (महिला/पुरुष) डल्लुस्थित बहुउद्देश्यीय कभर्ड हलमा, एथलेटिक्स (महिला/पुरुष) दशरथ रंगशालामा, बास्केटबल (३×३) (महिला/पुरुष) दशरथ रंगशालामै तथा भलिबल (महिला/पुरुष) जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आयोजना गरिएका छन्।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले चारदिने बन्द प्रशिक्षणपछि माघ २२–२३ गते काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन्। साथै, उनीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा त्रिविको प्रतिनिधित्व गर्ने अवसरसमेत पाउनेछन्।

उपकुलपति कपले त्रिभुवन विश्वविद्यालयमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने निर्देशक पराजुलीले बताए । उनले प्रतियोगितालाई सफल, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न सरोकारवाला निकाय, सञ्चारमाध्यम र खेलप्रेमी सबैबाट आवश्यक सहयोगको अपेक्षा गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खबर