काठमाडौं । नेपाल अङ्ग्रेजी शिक्षक सङ्घ (नेल्टा) काे अन्तर्राष्ट्रिय शिक्षकहरूको ३०औँ सम्मेलन माघ १६ र १७ गते काठमाडौंमा हुने भएको छ। बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन गरेर नेल्टा अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले सम्मेलनबारे औपचारिक जानकारी गराएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण सम्मेलन गर्ने वा नगर्ने अन्योल भए पनि शैक्षिक निरन्तरतालाई प्राथमिकता दिँदै कार्यक्रम आयोजना गर्न लागिएको ज्ञवालीले बताए। राजनीतिक परिस्थितिका कारण यस वर्ष सम्मेलन तीन दिनको सट्टा दुई दिनमा मात्र सीमित गरिएको ज्ञवालीले जानकारी दिए।
‘भावी पुस्ताका लागि अंग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त सम्मेलनमा ८०० अंग्रेजी शिक्षकको सहभागिता हुने अध्यक्ष ज्ञवालीले बताए ।
नेल्टाका द्वितीय उपाध्यक्ष डा. भीम गौतमका अनुसार सम्मेलनमा १५ देशका करिब ८ सय शिक्षक तथा अध्येताहरू सहभागी हुनेछन्। गत वर्ष भने २० देशका करिब १ हजार सहभागी थिए। गौतमले भने, “विषम परिस्थितिमा पनि नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलन परम्परा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ ।”
पत्रकार सम्मेलनमा नेल्टाले निर्वाचन आयोगको आचारसंहिता पूर्णरूपमा पालना गर्दै स्थानीय प्रशासनसँग समन्वयमा कार्यक्रम अघि बढाइएको जानकारी दिएको छ। प्रथम उपाध्यक्ष जयराम खनालले सम्मेलनका सबै गतिविधि कानुनी र संस्थागत दायराभित्र रहेर सञ्चालन हुने स्पष्ट पारे।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अंग्रेजी शिक्षाका बारेमा समूहगत छलफलका साथै प्रदेशस्तरीय छलफल हुनेछ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया, चीन, सिंगापुर, मंगोलिया चीन, सिंगापुर, मंगोलिया, अमेरिका, बेलायत, जापान, हङकङलगायत देशका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसैबीच, ‘नेक्स्ट जेनरेशन’ को सहभागिता बढाउने उद्देश्यले ३०औँ संस्करणमा २० भन्दा बढी युवालाई र्यापोर्टरका रूपमा सहभागी गराइने पनि नेल्टाले जनाएको छ।


