EduPress
'

सामुदायिक विद्यालयका शिक्षकका लागि एकमहिने प्रमाणीकरण तालिम सुरू हुँदै

Author Image
शुक्रवार, माघ १६, २०८२
Text Size:

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको शिक्षा तालिम केन्द्रले प्रदेशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि एक महिने प्रमाणीकरण तालिम सञ्चालन गर्ने भएको छ। केन्द्रले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शिक्षक पेशागत विकास प्रारूप-२०८० (परिमार्जित संस्करण) अनुसार तालिम सञ्चालन गर्न लागेको हो।

शिक्षा तालिम केन्द्रका अनुसार तालिम १५ दिन केन्द्रमा आमनेसामने र १५ दिन विद्यालयमै आधारित अभ्यास स्वरूप सञ्चालन गरिनेछ। तालिममा सहभागी हुन इच्छुक शिक्षकहरूले तोकिएको गुगल फाराममा विवरण अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तालिम विभिन्न विषयगत समूहमा सञ्चालन हुनेछ। जसअन्तर्गत प्रारम्भिक बालविकास तथा शिक्षा, एकीकृत पाठ्यक्रममा आधारित तालिम, कक्षा ४–५, ६–८, ९–१० र ११–१२ का अनिवार्य विषयमा आधारित तालिम तथा प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी तालिम समावेश छन्।

तालिम आमनेसामने र अनलाइन दुवै माध्यमबाट सञ्चालन हुने जनाइएको छ। आमनेसामने तालिममा एक समूहमा ३० जना र अनलाइन तालिममा ५० जना शिक्षक सहभागी गराइनेछ। अनिवार्य विषयमा आधारित तालिम भने विषयगत समूहका आधारमा सञ्चालन गरिनेछ।

शिक्षा तालिम केन्द्रले तालिम सञ्चालन तालिका पनि सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार तालिम चैत्र, वैशाख र जेठ महिनामा चरणबद्ध रूपमा सञ्चालन हुनेछन्। कक्षा ११–१२ को अनिवार्य विषयमा आधारित तालिम भने आवश्यकताका आधारमा विषय निर्धारण गरी सञ्चालन गरिने केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार तालिममा सहभागिताका लागि शिक्षकको स्थायी नियुक्ति मिति, विषयगत आवश्यकता र विद्यालयको मागलाई आधार बनाइनेछ। साथै, तालिम सञ्चालनका क्रममा आवश्यक परे कार्यतालिकामा सामान्य संशोधन हुन सक्ने जनाइएको छ।

शिक्षा तालिम केन्द्रले समयमै विवरण नभर्ने शिक्षकहरू तालिमबाट वञ्चित हुन सक्ने भन्दै तोकिएको मितिभित्र विवरण पेश गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर